Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

सधैं-सधैं मेरो सपनामा

  •   २ वर्ष अघि | २७ असोज २०८१, आइतवार


–✍🏼 भूपी शेरचन 

सधैं-सधैं मेरो सपनामा

असङ्ख्य युवति आमाहरू

मेरो अगाडि आउँछन्

र बहुलाई झैं

‘अब मेरो दूधको कुनै मूल्य छैन

अब मेरो मातृत्वको कुनै अर्थ छैन-'

भन्ने गीत गाउँछन्

र मलाई देखाई-देखाईकन

सुंगुरका भद्दा गन्दा बन्चाहरूलाई झैँ

आफ्नो अतिशय दूधले गानिएको

स्तन चुसाउँछन्

अनि एक्कासि

छाती पिट्तै

कपाल लुछ्तै मसँग आफ्ना हराएका छोराहरू माग्न थाल्छन्

सधैं-सधैं मेरो सपनामा

असंख्य जीवनद्वारा लत्याइएका

र मृत्युद्वारा नपत्याइएका

जीर्णातन वृद्धहरू

र विदीर्णमन बृद्धाहरू

मेरो अगाडि आएर लम्पसार पर्छन्

र मसँग

आफ्नो अथाह भविष्यको सूत्र माग्छन्

आफ्नो हराएको एकमात्र पुत्र माग्छन्

सधैं-सधैं मेरो सपनामा

असङख्य युवति विधवाहरू

मेरो अगाडि आएर

आफुलाई सम्पूर्ण रूपमा नङ्ग्याउँछन्

र आफ्नो हिउँजस्तो कोमल तनमा

दुनियाँको कामुक आँखाले पोलेको

काला-काला डामहरू देखाउँछन्

र मसँग आफ्नो जीवनको सहारा माग्दछन्

मसँग आफ्नो यात्राको किनारा माग्दछन्

सधैं-सधैं मेरो सपनामा

क्षयका कीटाणु बोकेका

असङ्ख्य टुहुरा केटा-केटीहरू

मेरो अगाडि आउँछन्

र मसँग स्कूलको फीस

पुस्तक किन्ने पैसा

क्रिकेटको बैट

र पिताको चुम्बन माग्छन्

र माग्छन् सुरक्षा

र मिठो निद्राले भरिएको रात

यसरी नै सधैं-सधैं मेरो सपनामा

मलायाका असंख्य-असंख्य मानिसहरूको

आँसुको एक ठूलो सागर बन्छ

जसको प्रत्येक लहरमा

एक लाश माथि उठ्छ

एक लाश तल डुब्छ

तर डुब्नुभन्दा अगाडि मलाई

प्रत्येक लासले घृणाले हेर्छ

आह, मेरो सपनामा मलाई

मेरो विपनाको इतिहासले घृणा गर्छ ।

  • Jigyasa media

थप