Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

काठमाडौं–तराई–मधेस द्रूतमार्ग : जग्गा अधिग्रहणको प्रतीक्षामा नेपाली सेना

  •   २ वर्ष अघि | १२ साउन २०८१, शनिबार

काठमाडौं । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौं–तराई–मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्धारित समयमै सम्पन्न गर्नेगरी निर्माणलाई तीव्र गतिमा अघि बढाइएको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन सो आयोजनाको हालसम्म ३५.३८ प्रतिशत भौतिक र ३६.६६ प्रतिशत वित्तीय प्रगति भएको छ।


निर्धारित समयमै निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको सेनाले जनाएको छ। द्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ। आयोजनालाई १३ वटा प्याकेजमा छुट्याएर निर्माण थालिएको थियो। ती प्याकेजमध्ये द्रूतमार्गको ६.५ किलोमिटरदेखि ७०.९७ किलोमिटरसम्मका विभिन्न १० वटा प्याकेजमा धमाधम काम भइरहेको आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेलले जानकारी दिए।


**तीन सुरुङ निर्माणाधीन**


परिमार्जित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार ६ मध्ये तीन वटा सुरुङ निर्माण भइरहेका छन् भने अन्य तीन सुरुङको डिजाइन तथा पूर्वतयारीका कार्य जारी छ। निर्माणाधीन तीन वटा सुरुङमार्गको लम्बाइ ६.६६९ किमीमध्ये ५.५२८ किमी सुरुङ खन्ने कार्य सम्पन्न भएका छन्।


तीन दशमलव ३२२ किमीको निजगढ–काठमाडौंतर्फको महादेवटार सुरुङ हालसम्म दुई दशमलव ०२९ किमी तथा तीन दशमलव ३८६ किमीको काठमाडौं–निजगढतर्फ दुई दशमलव २८८ किमी सुरुङ खनिसकिएको छ। सो सुरुङ यसैवर्ष सम्पन्न गर्नेगरी राति पनि काम भइरहेको सेनाले जनाएको छ।


**जग्गा अधिग्रहणमा ढिलाइ**


आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको काममा ढिलाइ हुँदा निर्माण प्रभावित भएको छ। आयोजनाका लागि करिब १७,६५१ रोपनी जग्गा आवश्यक पर्नेछ। त्यसमध्ये ५,४८७ रोपनी व्यक्तिको जग्गा हो। हालसम्म ४,८११ रोपनी जग्गा अधिग्रहण भइसकेको छ भने ३९४ रोपनी जग्गा अधिग्रहण हुन बाँकी छ।


**पर्यावरणीय सजगता**


आयोजना निर्माणबाट वातावरणीय क्षति हुन नदिन पर्याप्त सजगता अपनाइएको सेनाले जनाएको छ। आयोजना क्षेत्रमा हालसम्म ३१,७४३ रुख काटिएका छन्। ती रुखको सट्टामा ७,०५,५५२ बिरुवा रोपिएका छन्।


**सुरुङ र पुल मात्र २३ किलोमिटर**


प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको सो सडकको लम्बाइ ७०.९७७ किलोमिटर छ। द्रूत मार्ग पहाडी भू–भागमा २५ मिटर र तराई भू–भागमा २७ मिटर फराकिलो हुनेछ। द्रूतमार्गमा १०.३०९ किमी लम्बाइको ६ वटा सुरुङ बन्ने छन्।


आयोजनाअन्तर्गत विभिन्न स्थानमा १२.८८५ किमी लम्बाइको ८९ वटा पुल निर्माण हुनेछ। बुदुनेमा दुई वटा विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एक–एक वटा इन्टरचेन्ज र टोल प्लाजा निर्माण गरिनेछ।


मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयानुसार सो आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको हो। सो आयोजनाको २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाराको निजगढमा शिलान्यास गरेका थिए।


सरकारले २०७४ साउन २७ गते सडक विभागबाट सेनालाई आयोजना हस्तान्तरण गरेको थियो। सोही वर्षको मङ्सिरदेखि सेनाको जनशक्ति तथा राष्ट्रियस्तरका निर्माण व्यवसायीमार्फत द्रूतमार्गको ‘ट्रयाक’ निर्माण प्रारम्भ भएको थियो।


विसं २०७५ चैतमा अन्तर्राष्ट्रिय परामर्शदाता सोसुङ इञ्जिनियरिङ एण्ड कन्सल्टिङले तयार गरेको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) २०७६ मा स्वीकृत भएको थियो। विसं २०८० साउन ३० गते आयोजनाको परिमार्जित डीपीआर स्वीकृत भएको थियो। - रासस

  • RSS

थप