काठमान्डौ ।
सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च स्तरमा पुगेको छ। आज बिहान ३:०० बजे गरिएको मापनअनुसार, कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।
यसअघि, सन् १९६८ को अक्टोबर ५ तारिखमा मापन गरिएको ७ लाख ८८ हजार दुई सय क्युसेकको बहाव अहिलेसम्मकै उच्च थियो। शनिबार बेलुका १०:२५ बजे सप्तकोशीको पानीको बहाव प्रतिसेकेन्ड ६ लाख २० हजार क्युसेक मापन गरिएको थियो।
कोशी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको अनुसार, जलसतह खतरा तहभन्दा ११.२६ मिटर माथि पुगिसकेको छ र यसमा अझ वृद्धि हुने संभावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ। पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएका छन्।
सप्तकोशी नदीको जलसतह खतरा तहभन्दा माथि पुगेको र अझै बढ्दै गरेको हुँदा उदयपुर, सुनसरी र सप्तरीका बाढीबाट कटान हुनसक्ने क्षेत्र र डुबान हुने होचा भूभागमा नबस्न र उच्च सतर्कताका साथ सुरक्षित स्थानमा जान सूचना जारी गरिएको छ। लगातार पानीको बहाव बढ्दै जाँदा, कोशी ब्यारेज भएर मानिस र सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।
शनिबार बिहान ६:०० बजे कोशी ब्यारेज कन्ट्रोल रुमले प्रतिसेकेन्ड ३ लाख ३६ हजार १० क्युसेक पानीको बहाव मापन गरेको थियो। शनिबार साँझ ८:०० बजे पानीको बहाव ४ लाख १८ हजार दुई सय ८५ क्युसेक, राति १२:०० बजे ५ लाख ७ हजार ६ सय ९० क्युसेक, र आज बिहान २:०० बजे ६ लाख ३२ हजार २८५ क्युसेक मापन गरिएको थियो।
- reporter