काठमाडौं - हमासका राजनीतिक प्रमुख इस्माइल हनियाको इरानको राजधानी तेहरानमा हत्या गरिएको बीबीसीले जनाएको छ। गाजामा शासन गर्ने समूहको एक विज्ञप्तिमा उनको मृत्युको दोष इजरायललाई लगाइएको छ। हानिया र उनका एक अंगरक्षक बसेको भवनमा आक्रमण भएको थियो। सोही आक्रमणमा उनीहरू मारिएका बताइएको छ।
हमासले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘हनिया मंगलबार इरानका राष्ट्रपति मसुद पेजेस्कियानको पदभार ग्रहण समारोहमा भाग लिन तेहरानमा थिए।’

‘इस्लामिक प्रतिरोध आन्दोलन हमासले प्यालेस्टिनी जनता, अरब र इस्लामिक राष्ट्र र विश्वका सबै स्वतन्त्र मानिसहरूसँग शोक साझा गर्दछ। भाइ, नेता, शहीद, आन्दोलनका प्रमुख मुजाहिद इस्माइल हनिया, जसको हत्या भएको थियो। तेहरानमा उनको निवासमा एक विश्वासघाती सियोनिस्ट आक्रमण भएको थियो,’ हमासले भनेको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले पनि हानियाको मृत्यु भएको घोषणा गरेको छ। ‘आज बिहान, तेहरानमा इस्माइल हनियाको निवासमा आक्रमण भयो, जसको परिणामस्वरूप उनी र उनका एक अंगरक्षकको शहीद भयो। कारण अनुसन्धान भइरहेको छ र छिट्टै घोषणा गरिनेछ,’ आईआरजीसीले एक विज्ञप्तिमा भनेको छ।
हनिया कसरी मारिए भन्ने बारे कुनै विवरण सार्वजनिक भएको छैन। आईआरजीसीले आक्रमणबारे अनुसन्धान भइरहेको जनाएको छ।