बंगालको खाडी र अरब सागरको वायुले प्रभाव पार्दा वर्षा र हिमपातको सम्भावना, आज यस्तो छ मौसमको अवस्था

  •   १ वर्ष अघि | ३० बैशाख २०८२, मङ्लबार

काठमाडौं, वैशाख ३० – बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायु तथा पश्चिमी वायु र स्थानीय प्रणालीको संयुक्त प्रभावका कारण आज मंगलबार देशका विभिन्न भूभागमा वर्षा र उच्च पहाड–हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे सार्वजनिक गरेको विवरण अनुसार, देशका अधिकांश पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षासम्म हुने सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्ने जनाइएको छ।

दिउँसो यस्तो देखिएको छ मौसमको पूर्वानुमान

कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगहरूमा बादल बाक्लिनेछ। ती क्षेत्रमा मेघगर्जन/चट्याङसहित हल्का वा मध्यम वर्षा हुने सम्भावना छ। बाँकी क्षेत्रहरूमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ।

राति पनि देखिएको छ वर्षाको सम्भावना

कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने र ती क्षेत्रमा एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्नेछ। यसैगरी, ती प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

मौसमविद्का अनुसार हाल देशभर पश्चिमी वायुको सक्रियता कायम छ भने बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा प्रवेश गरेको छ, जसले गर्दा मौसममा थप नमीको प्रभाव देखिएको हो।

कस्तो अवस्थामा कस्तो वर्षा मानिन्छ?

१० मिलिमिटरभन्दा कम वर्षा — हल्का वर्षा

१० देखि ५० मिलिमिटर — मध्यम वर्षा

५०–१०० मिलिमिटर — भारी वर्षा

१००–२०० मिलिमिटर — धेरै भारी वर्षा

२०० मिलिमिटरभन्दा माथि — अति भारी वर्षा

स्थानगत परिभाषा अनुसार वर्षाको व्याख्या यसरी हुन्छ

केही स्थान — ५०% भूभागमा

थोरै स्थान — २५–३०% भूभागमा

एक-दुई स्थान — २५% भन्दा कम भूभागमा

देशका उच्च हिमाली भेगमा मौसम प्रतिकूल हुने देखिएकाले यात्रुहरू र पर्वतीय क्षेत्रका बासिन्दाहरुलाई विशेष सावधानी अपनाउन मौसम विभागले अनुरोध गरेको छ।

  • Jigyasanepal

थप