धादिङ ।
धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा शनिबार साँझ एकैपटक सातवटा सवारी साधन ठोकिँदा भीषण दुर्घटना भयो। पृथ्वी राजमार्गको व्यस्त खण्डमा भएको उक्त दुर्घटनामा ७० जना घाइते हुँदा उपचारका क्रममा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ।
मृतकमध्ये धादिङको थाक्रे गाउँपालिका–६ मादिवेसीका ५९ वर्षीय शेख अली एस रहेका छन्। अर्का करिब ३५ वर्षीय मृतक युवकको पहिचान अझै खुल्न बाँकी रहेको प्रहरी इन्सपेक्टर श्यामकुमार बस्नेतले बताए। पहिचान नखुलेका युवक कुन गाडीमा सवार थिए भन्नेबारे पनि अनुसन्धान जारी छ।
दुवै जनाको शव टिचिङ अस्पतालमा राखिएको छ।
दुर्घटनामा घाइते भएकामध्ये सामान्य अवस्थाका ५१ जना उपचारपछि डिस्चार्ज भएका छन् भने १७ जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनीहरूमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले पुष्टि गरेको छ।
उक्त दुर्घटनामा परेका सवारी साधनहरू छन्ः
बा.प्र.००१ क ००११ नम्बरको स्कुल बस
एनएल ०१ बिए ४६५४ नम्बरको भारतीय डिब्बा
ना.४ ख ७१५ नम्बरको ट्रक
लु.९५ प ३०७ नम्बरको मोटरसाइकल
जिजे–३ ए के ३२३१ नम्बरको बस
ग.१ ख ८५५१ नम्बरको काठमाडौँ गइरहेको बस
बा.१ प ९१७ नम्बरको पर्यटक बस
दुर्घटनामा घाइते हुनेमध्ये धेरैजना स्कुल बसमा सवार विद्यार्थी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार ब्रेक फेल भएको भारतीय नम्बर प्लेटको ट्रकले अन्य सवारीमा एकपछि अर्को ठक्कर दिँदा ठूलो दुर्घटना भएको हो।
राजमार्गमा भएको यो भीषण दुर्घटनाले फेरि एकपटक सडक सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ।
-
Jigyasanepal