JigyasaNepal
पाँचथर — पाँचथरको हिलिहाङ–७ आम्बेजानीमा भएको पिकअप दुर्घटनाले एकाएक काठमाडौंमा घटेको रहस्यमय हत्या प्रकरणतिर ध्यान तानेको छ। यही २४ असोज राति काठमाडौंको फर्पिङमा हत्या गरिएका ४२ वर्षीय चालक सुरेश श्रेष्ठले चलाउने गाडीको नम्बर प्लेट बुधबार साँझ पाँचथरमा दुर्घटना भएको पिकअप गाडीभित्र फेला परेको हो।
घटनास्थलमा भेटिएको गाडीको नम्बर ना २ च १६५१ रहेको छ, तर गाडीभित्र बा ७ च ५४४९ नम्बर प्लेट फेला परेपछि प्रहरी अनुसन्धान नयाँ दिशातर्फ मोडिएको हो।
यही नम्बर प्लेट हत्या गरिएका श्रेष्ठले चलाउने गाडीको थियो।
फर्पिङस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टका अनुसार, श्रेष्ठको कीर्तिपुरमा ढुङ्गाले हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। घटनापछि उनी चलाउँदै आएको गाडी समेत गायब रहेको उल्लेख गर्दै उनले भने, “हत्या र गाडी दुवै हराएका थिए, अहिले नम्बर प्लेट भेटिएपछि अनुसन्धानको बाटो स्पष्ट बन्दै गएको छ।”
पाँचथरको हिलिहाङ–७ आम्बेजानीमा पिकअप दुर्घटनामा एक जनाको मृत्यु भएको थियो। गाडीमा सवार व्यक्ति नै चालक भएको अनुमान गरिएको छ। दुर्घटनामा लाक्पा नुर्बु शेर्पाको लाइसेन्स फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए। उनका अनुसार मृतकको पूरा पहिचान खुल्न बाँकी रहेको छ।
घटनास्थलबाट एक मोबाइल फोन पनि बरामद गरिएको छ। तर, त्यो फोन हत्या भएका सुरेश श्रेष्ठकै हो वा होइन भन्नेबारे पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार, सो गाडी मेची राजमार्गको सल्लेरीबाट तमोर करिडोर हुँदै ताप्लेजुङतर्फ जाँदै गर्दा दुर्घटना भएको हो।
दुर्घटनापछि भेटिएको नम्बर प्लेट र चालकको लाइसेन्सले घटनालाई थप रहस्यमय र शंकास्पद बनाएको प्रहरी स्रोतले जनाएको छ।
फर्पिङको सुरेश श्रेष्ठ हत्या प्रकरण र पाँचथर दुर्घटनाबीच कुनै प्रत्यक्ष सम्बन्ध छ वा छैन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको बताइएको छ।
👉 घटनाले अब दुई फरक जिल्लामा भएका दुई अलग घटनाहरूलाई एउटै रहस्यको डोरीले बाँधेको जस्तो बनाएको छ —
एकातिर हत्या, अर्कोतिर दुर्घटना।
अब प्रश्न उब्जिएको छ —
“के पाँचथरको यो दुर्घटना, काठमाडौंको हत्याको कडी हो?”
-
Jigyasanepal