काठमाण्डौ ।
संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टिनी भूमिबाट इजरायल हट्नुपर्ने प्रस्ताव पारित भएको छ। यस प्रस्तावमा भने नेपाल तटस्थ बसेको छ। १२४ देशहरूले प्रस्तावको पक्षमा मतदान गरे भने अमेरिकासहित १४ देशले विरोध जनाएका थिए। यस क्रममा, नेपालले इजरायल र प्यालेस्टाइन दुबै देशसँग मैत्रीपूर्ण सम्बन्ध राख्दै आएको कारणले तटस्थ निर्णय गरेको हो।
भारत, बेलायत, र नेपाललगायत ४३ देशहरूले पक्ष वा विपक्षमा मतदान नगरी तटस्थ भूमिका निर्वाह गरे। इजरायल र प्यालेस्टाइनको बीचको विवाद समाधानमा नेपालले शान्तिपूर्ण वार्ताको पक्षमा रहेको बताउँदै आएको छ।
नेपाल र इजरायलबीचको कूटनीतिक सम्बन्ध सन् १९६० मा स्थापित भएको हो। यसका साथै, नेपाली विद्यार्थीहरूले कृषि अध्ययनका लागि इजरायल जाने अवसर पाउँदै आएका छन्।
सन् २०२३ मा हमासको आक्रमणबाट इजरायलमा रहेका १० नेपाली नागरिकको मृत्यु र अन्य कयौंको बेपत्ता अवस्थाले नेपाललाई यो मुद्दामा थप संवेदनशील बनाएको छ। इजरायलले हमासविरुद्ध कडा कारबाही गर्दै गर्दा अहिले प्यालेस्टिनी क्षेत्रमा ठूलो मानवीय संकट देखा परेको छ।
अन्तर्राष्ट्रिय अदालतको निर्णय
इन्टरनेसनल कोर्ट अफ जस्टिस (आईसीजे) ले इजरायलको प्यालेस्टिनी भूमिमा उपस्थिति अवैधानिक भन्दै हट्न आदेश दिएको छ। यसका साथै, नेतन्याहु र हमासका नेताहरूविरुद्ध पक्राउ पूर्जी माग गर्दै अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्दा दर्ता भएको छ।
मानवीय संकट
इजरायलको निरन्तर आक्रमणले लाखौं प्यालेस्टिनी नागरिक विस्थापित भएका छन् भने खाद्यान्न, औषधि, र पानीको ठूलो अभावले मानवीय संकट झन् गम्भीर बनेको छ।
- Jigyasa media