इस्लामावाद— पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा सहरस्थित रेलवे स्टेशनमा शनिबार बिहान भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या २१ पुगेको छ भने कम्तीमा ४६ जना घाइते भएका छन्। विस्फोटका बेला क्वेटा–रावलपिंडी गन्तव्यका यात्रुहरू जाफर एक्सप्रेसको प्रतिक्षामा प्लेटफर्ममा उपस्थित थिए।
बलुचिस्तानका स्वास्थ्य संयोजक अधिकारी वसीम बेगका अनुसार सिभिल अस्पतालमा चार जना मृतकका शव ल्याइएको छ। क्वेटाका एसएसपी अपरेसन मुहम्मद बलोचले बम विस्फोटको कारण खुल्न बाँकी रहेको बताए।
बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुग्तीले यस आक्रमणलाई निर्दोष नागरिक, बालबालिका, मजदुर र महिलामाथि लक्षित आतंकवादी शृङ्खलाबद्ध आक्रमणको रुपमा बताएका छन् र घटनाको विस्तृत छानबिन गर्न आदेश दिएका छन्।
- RSS