काठमाडौं । नेपालमा हाल पश्चिमी वायु र न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ। जल तथा मौसम विभागका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ भने अन्य स्थानमा मौसम सामान्यतया सफा देखिएको छ। साथै, तराईका केही क्षेत्रहरूमा हुस्सु र कुहिरो लागेको अवस्था छ।
आजको मौसम (पुस ११)
गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा सामान्य बदली रहने अनुमान गरिएको छ भने तराई क्षेत्र मुख्यतया सफा रहनेछ।
भोलि (पुस १२)
शुक्रबार लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हल्का वर्षा हुन सक्ने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा मध्यम हिमपात र सामान्य वर्षा हुने अनुमान गरिएको छ। पहाडी क्षेत्रहरूमा पनि बदलीको सम्भावना देखिएको छ।
शनिबार (पुस १३)
शनिबार सातै प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ। हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्छ भने पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने संभावना छ। तराईका केही भागमा हल्का वर्षाको अनुमान गरिएको छ।
मौसमको यो अवस्थालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन विभागले सबैलाई सुझाव दिएको छ।
- Jigyasa media