खार्तूम: सुडानको राजधानी खार्तूमको दक्षिणी क्षेत्रमा अवस्थित केन्द्रीय बजार (अल–सौक अल–मार्काजी) मा भएको हवाई आक्रमणमा कम्तीमा २३ जना नागरिकको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। स्थानीय स्वयंसेवी समूह र गैरसरकारी संस्थाहरूले घटनाबारे जानकारी दिएका छन्।
आक्रमणको जिम्मेवारी हालसम्म कुनै समूहले लिएको छैन। घाइतेहरूको उपचार बसाइर, एलराजी, र अलराकी अस्पतालमा भइरहेको छ, जहाँ केही घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ।
सैन्य स्रोतका अनुसार, सुडानी सशस्त्र बल (एसएएफ) ले राजधानी खार्तूममा अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) विरुद्ध महत्त्वपूर्ण आक्रमण सञ्चालन गरेको थियो। यस द्वन्द्वले अप्रिल २०२३ देखि सुडानमा गम्भीर संकट ल्याएको छ, जसले गर्दा २० हजार भन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन्।
अप्रिलमा सुरु भएको यो संघर्षले हजारौंलाई विस्थापित बनाएको र सुडानको जनजीवनमा ठुलो प्रभाव पारेको छ।
- RSS