काठमाडौं । वैदेशिक रोजगारको प्रलोभन देखाई रु ६ लाख ७७ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
पक्राउ परेका व्यक्तिहरूमा मिक्लाजुङ गाउँपालिका–७, हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्ने ४२ वर्षीय शशी लामा, कास्की माछापुछ्रे गाउँपालिका–६, हाल काठमाडौं महानगरपालिका–२६ रानीबारी बस्ने ३२ वर्षीया रोशनी विश्वकर्मा, र सिन्धुली कमलामाई नगरपालिका–७, हाल भक्तपुर सूर्यविनायक नगरपालिका–६ बस्ने २५ वर्षीय गणेशबहादुर श्रेष्ठ रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, शशी लामाले रु ३ लाख ६५ हजार, रोशनी विश्वकर्माले रु १ लाख २ हजार, र गणेशबहादुर श्रेष्ठले रु २ लाख १० हजार लिइ क्रोएसिया र दुबई लगायतका देशमा लैजाने आश्वासन दिएका थिए। लामो समयसम्म झुक्याएर सम्पर्कविहीन भएपछि पीडितहरूले जाहेरी दिएर उनीहरूको खोजी भएको थियो।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको सूचना अधिकारी आचार्यले जानकारी दिए।
- Jigyasa media