काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आम सर्वसाधारणका लागि छिट्टै धरहरा खुला गर्ने तयारी गरिरहेको जानकारी दिएका छन्। आज (बुधबार) सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारहरूसँगको छलफलमा उपप्रधानमन्त्री सिंहले सरकारको सय दिनभित्र धरहरा चढ्न मिल्ने व्यवस्था गर्न लागिरहेको बताए।
उपप्रधानमन्त्री सिंहले धरहराको सबै निर्माण काम नसकिएपनि, धरहरा चढ्न इच्छुक व्यक्तिहरूको लागि विशेष व्यवस्था छिट्टै तयार गरिने जानकारी दिए। ‘धरहरा चढ्न चाहनेहरूका लागि सरकारले एक सय दिनभित्रै केही व्यवस्था गर्न लागिरहेको छ। धरहराको सबै काम सकिएन भने पनि, केही भाग खुला गर्नका लागि हामी सक्रिय छौं,’ उनले भने।
नयाँ शहरहरूको विकासको विषयमा पत्रकारहरूको प्रश्नमा उपप्रधानमन्त्री सिंहले सरकार अस्थिर भएको कारण प्रक्रियामा ढिलाइ भएको बताउँदै हाल संसद्को दुई ठूला दलको सहयोगले नयाँ शहरहरूलाई सुरक्षित र व्यवस्थित बनाउने प्रक्रियामा अब तीव्रता आउने आशा व्यक्त गरे।
साथै, काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि मन्त्रालयले स्थानीय तहसँग छलफल गर्दै रहेको पनि उनले जानकारी दिए। वर्तमानमा सरकार नीति निर्माणमा बढी ध्यान दिइरहेको उपप्रधानमन्त्री सिंहले उल्लेख गरे।
- Jigyasa media