सेयर बजारमा ११ महिनापछि उच्च उत्साह : लगानीकर्ताको कारोबार २१ अर्ब नाघ्दा बजारमा नयाँ जोश

  •   १ वर्ष अघि | ४ साउन २०८२, आइतवार

 साउन ४, २०८२, आइतबार | काठमाडौँ

लगातार सुस्त र निराशाजनक यात्रामा रहेको नेपाल धितोपत्र बजारमा ११ महिनापछि लगानीकर्ताको विश्वास फर्किएको संकेत देखिएको छ।

आइतबार एकैदिन २१ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार हुँदा बजारमा चहलपहल र जोश पुनः फर्किएको छ।

यो कारोबार पछिल्लो ११ महिनामा सबैभन्दा ठूलो हो। अघिल्लो वर्ष भदौ २ गते बजार सूचक ३०४० अंक पुगेका बेला २८ अर्बको कारोबार भएको थियो, जुन अहिलेसम्मकै उच्च हो। त्यसयता पहिलोपटक आइतबार २० अर्बको आँकडा पार गरिएको हो।

नयाँ मौद्रिक नीतिले जगाएको आशा

चालु आर्थिक वर्षको मौद्रिक नीति सेयर बजारमैत्री आएपछि लगानीकर्तामा आत्मविश्वास बढेको देखिन्छ। साउन महिनाको तीन कारोबारी दिनमै नेप्से सूचक १६३.१७ अंकले उक्लिएको हो।

आइतबार नेप्से सूचक ०.३२ अंकको हल्काफुल्का वृद्धिसहित २८७०.९५ अंकमा बन्द भएको छ। कारोबारका क्रममा सूचक अधिकतम २९२२.७३ अंकसम्म पुगेको थियो।

नेपाल पुनर्बीमा कम्पनीको एक्लै झण्डै १ अर्बको कारोबार

उक्त दिन नेपाल पुनर्बीमा कम्पनी (NRIC) को सेयरमा मात्रै करिब १ अर्ब रुपैयाँको कारोबार हुँदा यो कम्पनी सबैभन्दा बढी कारोबार हुने अग्रस्थानमा रह्यो।

तर सूचक वृद्धिको लहर भए पनि अधिकांश कम्पनीको मूल्यमा भने गिरावट आएको छ। कुल ३१६ कारोबार हुने कम्पनीहरूमध्ये १४४ कम्पनीको सेयर मूल्य घटेको छ, भने १०५ कम्पनीको मूल्यमा वृद्धि भएको हो।

समृद्धि फाइनान्सको मूल्यमा ठूलो गिरावट 

मूल्य घट्नेतर्फ समृद्धि फाइनान्स सबैभन्दा अगाडि देखियो।

पोखरा फाइनान्ससँग गाभिने समाचार सार्वजनिक भएपनि सेयर स्वाप बराबरीको विषयलाई लगानीकर्ताले सकारात्मक रूपमा नलिँदा समृद्धिको सेयर मूल्यमा उच्च गिरावट आएको हो।

त्यस्तै गुडविल फाइनान्स डिबेन्चर पनि ७.७५ प्रतिशतले घट्दै दोस्रो स्थानमा रह्यो।

बैंकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लघुवित्त, उत्पादन तथा प्रशोधन, र व्यापार समूहका धेरै कम्पनीको मूल्यमा गिरावट देखिएको छ।

सान्भी इनर्जी र उन्नति सहकार्य लघुवित्तमा सर्किट

सकारात्मक सर्किट लाग्दै सान्भी इनर्जी र उन्नति सहकार्य लघुवित्तले बजारमा चमक ल्याए।

सान्भी इनर्जी आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आएको हो र सुरुवातमै सर्किट हान्दै अग्रस्थानमा रह्यो।

त्यस्तै ट्रेडटावर लिमिटेड र शिवश्री हाइड्रो, विन्दवासिनी हाइड्रो लगायतका कम्पनीको मूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको हो।

  • Jigyasanepal

थप