काठमाडौँ, भदौ ११, २०८१ - राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पा सदरमुकाम तानसेनस्थित ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिरमा आज विशेष पूजाअर्चना गरेका छन्। साथै, उनले रणउजिरेश्वरी भगवती रथ यात्रामा पनि सहभागीता जनाए। यस अवसरमा प्रथम महिला सविता पौडेलले समेत मन्दिरमा पूजाअर्चना गरिन्।
रथ यात्रामा रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख तुलाराम घर्ती, मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेशका सुरक्षा निकायका प्रमुखहरू, र अन्य उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो।
नेपाल–अङ्ग्रेज युद्धमा गोर्खाली फौजले जितगढी किल्लाबाट अङ्ग्रेज फौजलाई पराजित गरेको खुसियालीमा हरेक वर्ष भाद्र कृष्ण अष्टमीको भोलिपल्ट तानसेन नगरपालिका–३ स्थित भगवती मन्दिरबाट रथ यात्रा निकाल्ने परम्परा रहेको छ। विसं १८७७ देखि मनाउँदै आएको यो रथ यात्रा यस वर्ष दुई सय पाँचौँ पटक मनाइएको हो।
भगवती मन्दिर व्यवस्थापन समिति अध्यक्ष अशोक महर्जनका अनुसार, कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट यहाँ हरेक वर्ष रथ यात्रा निकालिँदै आएको छ। यो विजय उत्सवको रुपमा मनाइने रथ यात्रा नेपाली सेनाले सलामी दिएर मन्दिरको तीन पटक परिक्रमा गराएपछि प्रारम्भ हुन्छ। यसलाई 'भगवती जात्रा', 'रथ यात्रा', अथवा 'सिन्दूर जात्रा' पनि भनिन्छ।
रथ यात्राका क्रममा शीतल पार्टीको मूल ढोकाबाहिर पुगेर सरकारका तर्फबाट प्रमुख जिल्ला अधिकारीले पूजा गरी बलि दिने चलन रहेको छ। यस जात्रालाई विद्यालय, विभिन्न सङ्घसंस्था, भजनकीर्तन, पञ्चेबाजा, लाखेनाच, तथा सांस्कृतिक झाँकीसहित तानसेन नगर परिक्रमा गराई पुनः भगवतीको मन्दिरमा लगेर विसर्जन गरिन्छ।
यो जात्रा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपालले १८७१ पुसदेखि १८७२ जेठसम्म अङ्ग्रेजसँगको युद्धमा जितगढी लगायतका क्षेत्रमा हासिल गरेको विजयको सम्झनामा आरम्भ गरिएको हो, जसलाई १८७७ सालदेखि निरन्तर मनाइँदै आएको छ।
- Jigyasa media