Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

मनसुनजन्य विपद्का घटनाबाट २८ जनाको मृत्यु

  •   २ वर्ष अघि | २२ असार २०८१, शनिबार

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान माहाशाखाले आइतबारसम्म मुलुकका विभिन्न स्थानमा बाढीको उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । आइतबारसम्म भारी वर्षाको सम्भावना रहेकाले नदीमा पानीको बहाव बढ्नसक्ने र बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।


साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको मनसुनजन्य जोखिमको न्यूनीकरण तथा जोखिम प्रतिकार्यसम्बन्धी उच्चस्तरीय बैठकमा प्रचण्डले प्राकृतिक विपत्तिको उच्च जोखिमयुक्त देश भएकाले ३ वटै सुरक्षा अंगको समन्वयात्मक प्रयासमा विपद् व्यवस्थापन पूर्वतयारीका काम व्यवस्थित गर्न निर्देशन दिएका छन् ।


‘विपद् व्यवस्थापनमा हामीसँग स्रोत पनि छ तर, कार्यविधिको झन्झटले स्रोत परिचालन गर्न नसकेको कुरा बोध गर्दै यसलाई सहज परिचालन गर्न सकिनेगरी परिमार्जन गरौँ’, प्रचण्डले भने, ‘राज्यका सबै निकायको सम्पूर्ण ध्यान पूर्वतयारी र जोखिम न्यूनीकरणमा केन्द्रित गरौँ ।’


मनसुनजन्य विपद्का घटनाबाट २८ जनाको मृत्यु


मनसुनजन्य विपद्मा परी २८ जनाले ज्यान गुमाएका छन् भने १ जना बेपत्ता तथा अन्य २५ जना घाइते भएका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट उपस्थित भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले यसबारे जानकारी गराएका हुन् । त्यस्तै, मनसुनजन्य विपद्बाट ४६ घर पूर्ण क्षति र ३६ घर आंशिक क्षति भएको विवरण अर्यालले प्रस्तुत गरेका छन् ।


चालु आर्थिक वर्षमा हालसम्मका मनसुनजन्य विपद्का विवरण प्रस्तुत गर्दै उनले पहिरोबाट २४ जनाको मृत्यु भएको, १९ जना घाइते भएका तथा बाढीबाट ४ जनाको मृत्यु तथा तथा १ जना बेपत्ता र २ जना घाइते भएको जानकारी दिएका छन् । उनका अनुसार भारी वर्षाका कारण ४ जना घाइते भएका छन् भने चट्याङका ९३ वटा घटनामा परी १९ को मृत्यु भएको तथा ३५ घाइते भएका छन् । त्यस्तै, सबै विपद्का घटनाबाट १७१ चौपाया मरेका छन् ।


सभामा मन्त्री अर्यालले विपद् व्यवस्थापनका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ तयार गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिनुका साथै मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमको आँकलन गरी जोखिमयुक्त क्षेत्रको संरक्षण हुनेगरी विभिन्न क्षेत्रमा निकायगत जिम्मेवारी तोकिएको बारे जानकारी गराएका थिए ।


प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा पूर्वतयारी गरिएको जानकारी दिँदै उनले सरोकारवाला निकायसँगको सहकार्य र समन्वयमा तयार गरिएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाअनुसार ‘कमान्ड पोस्ट’ खडा गरी विपद्बाट धनजन जोगाउने कार्यक्रम भइरहेका बताए ।


जिल्ला विपद् व्यवस्थापन कोषबाट मृतकका परिवारलाई ५ लाख, प्रदेश सरकारबाट प्राप्त ३ लाख, चामल, दाल, तेल, चिनी, साबुनलगायत दैनिक उपभोग्य वस्तु उपलब्ध गराइएको छ । साथै, मृतकका परिवारलाई तत्काल १५ हजार रुपैयाँ, त्रिपाल, कम्बल र भाँडाकुँडा उपलब्ध गराइएको छ ।


कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन


गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमान्ड पोस्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उनले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका स्थानीय पालिकासँग सहकार्य एवं समन्वय गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।


प्रदेश सरकार, निजी क्षेत्र, सामाजिक संस्थाहरू परिचालनका निम्ति समन्वय गर्न एवं सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने जनाउँदै गृहसचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नसमेत निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।विपद् व्यवस्थापनमा पालिकाको भूमिका महत्वपूर्ण रहने भएकाले प्रजिअहरूले पालिकासँगका समन्वयमा जोड दिनुपर्ने गृहसचिव अर्यालले निर्देशनमा भनेका छन् । ‘स्थानीयस्तरमा विपद्जन्य घटनाको पहिलो जिम्मेवारीमा पालिका नै रहने भएकाले जनप्रतिनिधिसहित कर्मचारीसँगको समन्वय महत्वपूर्ण छ’, अर्यालले भने, ‘यस्तो अवस्थामा आफ्नो कार्यक्षेत्र नछाड्न निर्देशन दिनुहोला ।’


यसैगरी मौसम पूर्वानुमान गर्ने निकायको तत्परतालाई थप प्रभावकारी गर्न अनुरोध गर्दै तत्काल उद्धार र राहतका लागि हेलिकोप्टरदेखि अन्य प्रभावकारी स्रोत साधन चुस्त राख्न सम्बद्ध सबै पक्षलाई उनले अनुरोध गरेका छन् । गृहसचिव अर्यालले विपद्बाट मानवीय क्षति बेहोर्न पुगेका परिवारहरूमा आफैँ उपस्थित भई आवश्यक सहयोग गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

  • Jigyasa media

थप