काभ्रेपलाञ्चोक । काभ्रे जिल्लाको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा बिहीबार साँझ भएको बस दुर्घटनामा एक पैदलयात्री महिलाको मृत्यु भएको छ। काठमाडौँबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा२ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी एक महिलालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, धुलिखेल अस्पतालमा उपचारका क्रममा ती महिलाको मृत्यु भएको हो।
प्रहरीले ठक्कर दिने बसका चालक, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ निवासी ५१ वर्षीय रामबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ। मृतक महिलाको पहिचान भने खुल्न सकेको छैन।
यसैबीच, नमोबुद्ध नगरपालिका–६ की १३ वर्षीया बालिका खुसी न्यौपाने बिहीबार अपराह्नदेखि हराएकी थिइन्। खोजीकार्यका क्रममा प्रहरीद्वारा दाप्चा खोलाको दहमा बालिकाको शव फेला परेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
- Jigyasa media