हेटौँडा, १७ भदौ – सोमबार मकवानपुरको हेटौँडा–१९ नेवारपानी क्षेत्रमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बा प्र ०२–०२२ प २५०२ नम्बरको मोटरसाइकललाई, नवलपरासीबाट झापाका लागि सिमेन्ट बोकेर जाँदै गरेको बा प्र ०३–००१ ख २०८६ नम्बरको ट्रकले बिहान सवा ९ बजेतिर ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका हेटौँडा–९ निवासी २५ वर्षीय अभिषेक सुवेदीलाई इलाका प्रहरी कार्यालय नेवारपानीको टोलीले हेटौँडा अस्पताल पुर्याएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरेका छन्।
घटनामा संलग्न ट्रकका चालक, दाङको गडुवा गाउँपालिका–२ निवासी चन्द्रप्रसाद चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
- Jigyasa media