काभ्रे - ५० वर्षीय विनोद खड्गीको अपहरण र हत्या प्रकरणमा संलग्न पाँच अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। कीर्तिपुर निवासी खड्गीलाई ‘हनीट्र्याप’मा पारी अपहरण गरी फिरौती असुलेर हत्या गरिएको छ, जसमा मुख्य षड्यन्त्रकर्ता २१ वर्षीया महिला मनिषा महत रहेको खुलेको छ।
मृतक खड्गीको शव पाँचखाल नगरपालिका–८ स्थित ४९ किलो भन्ने ठाउँमा असोज ६ गते फेला परेको थियो। परिवारको निवेदनपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो, जसमा खड्गीको शव व्यबहारिसे भेटिएको थियो।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूले मृतक खड्गीलाई मनिषा महतको टोलीले 'हनीट्र्याप'मा पारेको पुष्टि गरेका छन्। टोलीमा काठमाण्डौका सरिन घिमिरे, महोत्तरीका आशिष पासवान, बाग्लुङका प्रतीक गौतम, र भारतीय नागरिक अंशु र शिवम रहेका थिए।

प्रहरीका अनुसार, घटना यसरी अगाडि बढ्यो: मनिषा महतले खड्गीसँग सम्पर्क गरी उनलाई भेट्न बोलाइन् र त्यहाँ पुगेपछि खड्गीलाई रक्सी खुवाइएको थियो। उनीहरूले खड्गीलाई बाँधेर यातना दिए र फिरौतीका रूपमा सुरुमा ३० लाख रुपैयाँ मागे। तर, खड्गीले आफूलाई त्यति रकम नभएको भन्दै ५ लाख रुपैयाँ मात्र दिनसक्ने बताएका थिए। फिरौती असुलेर खड्गीलाई बचाउन छोड्ने भनिए पनि, अभियुक्तहरूले उनलाई मार्ने योजना बनाइसकेका थिए। ५ लाख रुपैयाँ बुझाइएपछि, उनीहरूले खड्गीलाई उनकै गाडीमा राखेर गुण्डु सडकमा पुर्याए। त्यहाँ गाडी भित्रै ढुंगाले थिचेर र कुटपिट गरी खड्गीको हत्या गरेको प्रहरीले जनाएको छ। अभियुक्तहरूलाई अपहरण, फिरौती असुल र हत्याको अभियोगमा पक्राउ गरिएको छ। प्रमुख अभियुक्त मनिषा महतलाई प्रहरीले नियन्त्रणमा लिएसँगै अन्य अभियुक्तहरूको समेत पक्राउ गरिएको हो। अंशु र शिवम नामका भारतीय नागरिकको खोजीका लागि इन्टरपोलको सहयोगमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएअनुसार, मनिषा महत र उनका सहयोगीहरूले अपहरणको यो योजना पहिले नै बनाएका थिए, जसमा भारतीय नागरिकहरूको समेत संलग्नता रहेको थियो। अभियुक्तहरूलाई कानूनी प्रक्रिया अघि बढाउन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काभ्रे प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले यस घटनाले सर्वसाधारणलाई सचेत गराएको बताउँदै आपराधिक घटनामा संलग्न जो कोहीलाई पनि कानूनी कठघरामा ल्याउन काभ्रे प्रहरीले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारिन्। उनले अहिले विपत्ति मा आफूहरुले गरेको काम को समेत ब्रिफिङ गरिन् उनले चाड बाड नजिकिए सँगै आपराधिक गिरोहहरूबाट सचेत रहन आम सर्वसाधारणलाई आग्रह गरेको छ।
- Jigyasa media