। खोटाङ, बराहपोखरी गाउँपालिका-२, सुन्तलेस्थित चेकेथुम गाउँ पहिरोको उच्च जोखिममा परेको छ। प्रत्येक वर्ष मस्टपुखोलाबाट सर्दै आएको पहिरोले गर्दा गाउँका स्थानीय बासिन्दाहरू दिनरात त्रासमा बस्न बाध्य भएका छन्। वडाध्यक्ष पदम मगरका अनुसार पहिरो निरन्तर माथिल्लो भेगतर्फ सर्दै जाँदा गाउँको अस्तित्व खतरामा परेको हो।
पहिरोको सर्दोक्रमले यस वर्ष स्थानीय खड्गबहादुर थापामगर, पर्शुराम मगर र गोपाल मगरको घर विशेष जोखिममा परेको छ। यदि यो क्रम रोकिएन भने पूरै गाउँ नै पहिरोमा बग्न सक्ने खतरा बढेको छ। पहिरोले उत्पन्न गरेको संकटप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको वडाध्यक्ष मगरले बताए।
२५ वर्षअघि सुरु भएको पहिरोले २०७२ मा तल्लो भेगका २८ घर विस्थापित भएका थिए। विस्थापितमध्ये कतिपयले आसपासका जग्गा खरिद गरी नयाँ घर बनाएर सरेका छन् भने अन्यले छिमेकी जिल्ला उदयपुरमा बसाइँ सरेका छन्। यद्यपि, चेकेथुम गाउँको सिंगो संरचना अहिले पनि पहिरोको जोखिममा रहेको छ।
स्थानीय बासिन्दाहरूले पहिरोको आकार करिब पाँच सय मिटर फराकिलो रहेको बताएका छन्, जसले गर्दा नजिकैको जनचेतना आधारभूत विद्यालय पनि उच्च जोखिममा परेको छ। निरन्तर खस्ने पहिरोको कारणले गर्दा बस्तीहरू माथि सर्दै जाने क्रम जारी रहेको छ, जसले स्थानीयलाई दीर्घकालीन रूपमा प्रभावित बनाएको छ।
सिमसार र कमेरे माटो भएको जमिनले पहिरोको रोकथाम गर्न असम्भव बनाएको वडाध्यक्ष मगरले बताएका छन्। पहिरोले गर्दा विस्थापित भएका स्थानीयहरूले राज्यबाट कुनै क्षतिपूर्ति नपाएको गुनासो गरेका छन्। उनीहरू आफ्नै प्रयासमा ऋण गरेर नयाँ स्थानमा बसोबास गरिरहेका छन्, तर राज्यको तर्फबाट उचित सहयोग नपाउँदा उनीहरू निराश छन्।
यस संकटले गर्दा चेकेथुमका बासिन्दाहरू भविष्यको अनिश्चिततासँग जुधिरहेका छन्। राज्यको हस्तक्षेप र पहिरो नियन्त्रणका प्रयासहरूको अभावले गर्दा स्थानीयहरू अझै पनि सुरक्षित भविष्यको खोजीमा छन्।
– रासस
- Jigyasa media