काठमाडौं - सरकारी कार्यालयमा खाजा समय लामो हुँदा सेवाग्राहीहरूलाई सेवा प्राप्तिमा समस्या भइरहेको गुनासो निरन्तर सुनिँदै आएको छ। सेवाग्राहीहरूका दैनिक गुनासोलाई ध्यानमा राख्दै सरकारले खाजा समयलाई सीमित गर्दै अब मात्र आधा घण्टा राख्ने निर्णय गरेको छ।
यसअघि सरकारी कार्यालयहरूमा एक घण्टाको खाजा समय कायम थियो, तर खाजा खानको लागि लिने अत्यधिक समयले सेवाग्राहीलाई सेवा लिन कठिनाइ हुँदै आएको थियो। यसलाई मध्यनजर गर्दै अब प्रत्येक दिन दिउँसो १:३० देखि २ बजेसम्म मात्र खाजा समय कायम गरिएको छ। आज प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराइएको सूचनाले सेवाग्राहीको हितको लागि यो निर्णय कोसेढुंगा साबित हुने बताइएको छ ।
खाजा खानु आवश्यक भए पनि काममा धेरै समय अवरोध हुँदा कार्यालयको सेवा प्रवाह प्रभावित हुन नहुने सरकारी धारणा छ। यसका लागि कार्यालयको नियमलाई उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी दिइएको छ। यदि यो नियमको उल्लंघन भएको भेटिएमा सेवाग्राहीहरूलाई "हेल्लो सरकार" मार्फत उजुरी दिन आग्रह गरिएको छ।
सरकारको यो कदमले सरकारी कार्यालयमा हुने समयको दुरुपयोगमा कमी आउने र सेवाग्राहीहरूले छिटो र प्रभावकारी सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
- Jigyasa media