महोत्तरी, असोज ९ – महोत्तरीको बर्दिवासमा मंगलबार सम्पन्न छैटौं राष्ट्रिय जलवायु अनुकूलन सम्मेलनले पाँचबुँदे घोषणापत्र र नौबुँदे अपिल जारी गर्दै जलवायु न्यायको वकालत गरेको छ। सम्मेलनले जलवायु परिवर्तनको कारणले जोखिममा परेका समुदायहरूको अधिकार र आवश्यकतामा आधारित समतामूलक नीति र क्रियाकलापलाई प्राथमिकतामा राख्न जोड दिएको छ।
घोषणापत्रमा नेपालका विभिन्न भूभागमा जलवायु परिवर्तनले पारिरहेको गम्भीर असरप्रति चिन्ता व्यक्त गर्दै कार्बन उत्सर्जन घटाउने र जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याइएको छ। विशेषगरी जलवायु परिवर्तनले प्रभावित गरिब समुदायका लागि हालसम्म भएका प्रयासहरू अपर्याप्त रहेको र राज्यका निकायले यसमा ठोस पहलकदमी लिनुपर्नेमा जोड दिइएको छ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धीअन्तर्गत भइरहेको वार्ता र प्रयासहरूको महत्त्वलाई पनि सम्मेलनले उच्च सम्मानका साथ प्रस्तुत गरेको छ।
मुख्यमन्त्री सतिशकुमार सिंहको उद्घाटन
सम्मेलनको उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरेका थिए। उनले जलवायु अनुकूलनका अभ्यासलाई जीवन पद्धतिसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै यस क्षेत्रमा थप लगानी र पहल गरिनुपर्ने बताए।
नौबुँदे अपिलमा के-के छन्?
सम्मेलनले जारी गरेको नौबुँदे अपिलमा, जलवायु सङ्कटसँगै गरिबी र असमानता समाधान गर्न हस्तक्षेपकारी अनुकूलन कार्यक्रमहरू आवश्यक रहेको उल्लेख छ। साथै, यी कार्यक्रमहरू आधारभूत तहका जनताको आवश्यकतालाई केन्द्रित गर्दै नीतिहरू विकास गर्नुपर्नेमा जोड दिइएको छ।
विशेषगरी चुरे क्षेत्रको संरक्षणका लागि स्पष्ट मार्गचित्र आवश्यक भएको र जलवायु अनुकूलन कार्यक्रमको प्रभावकारिता बढाउन वैज्ञानिक दृष्टिकोणसहित नीतिगत वातावरण निर्माण गर्नुपर्ने सुझाव सहभागीहरूले दिएका छन्।
सत्र र कार्यपत्र प्रस्तुति
सम्मेलनमा अध्येता तथा विज्ञहरू जगदीश भट्ट, सुमन चापागाईं, र सोहनलाल श्रेष्ठले प्रस्तुत गरेका कार्यपत्रहरूमाथि जलवायु विज्ञ अजय दीक्षित र प्रवीणमान सिंहले टिप्पणी गर्दै थप सुझाव प्रस्तुत गरे।
सामाजिक संस्थाको आयोजनामा
जलवायु अनुकूलन र वातावरणका क्षेत्रमा लामो समयदेखि क्रियाशील १४ सामाजिक संस्थाहरूले संयुक्त रूपमा आयोजना गरेको यस सम्मेलनले जलवायु परिवर्तनका असरहरूबारे गम्भीर छलफल गर्दै आगामी कदमहरूलाई स्पष्ट रुपमा अगाडि बढाउन महत्त्वपूर्ण योगदान गरेको छ।
धनुषाको मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकीका अनुसार, सम्मेलनले जलवायु अनुकूलनको अभ्यास र चुनौतीहरू बुझ्न महत्वपूर्ण योगदान पुर्याएको छ।
- Jigyasa media