चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  •   १ वर्ष अघि | १७ असार २०८२, मङ्लबार

काठमाडौँ, असार १७ –

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) को दिन र रात दुबै समयमा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाले आज बिहान ६ बजे सार्वजनिक गरेको दैनिक मौसम बुलेटिनअनुसार दिउँसो बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा को सम्भावना समेत रहेको उल्लेख गरिएको छ।

यस्तै, देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।

रातिको समय पनि सावधानी अपनाउनुपर्ने देखिएको छ।

राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेश सहित देशका पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यसैगरी तीनै प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि पर्न सक्छ।

वर्षाको मापन कसरी गरिन्छ?


मौसमविद्‌का अनुसार—


१० मिलिमिटरभन्दा कम वर्षा — हल्का वर्षा


१०–५० मिलिमिटर — मध्यम वर्षा


५०–१०० मिलिमिटर — भारी वर्षा


१००–२०० मिलिमिटर — धेरै भारी वर्षा


२०० मिलिमिटरभन्दा माथि — अति भारी वर्षा


एक-दुई स्थान’ र ‘केही स्थान’ भन्नुको अर्थ के?


पूर्वानुमानमा प्रयोग गरिने स्थानगत परिभाषा यस प्रकार छ:


एक-दुई स्थान — सम्बन्धित प्रदेशको १०% भन्दा कम भूभाग


थोरै स्थान — १०%–३०% भूभाग


केही स्थान — ३०%–५०% भूभाग


धेरै स्थान — ५०%–८०% भूभाग

अधिकांश स्थान — ८०% भन्दा बढी भूभाग

के गर्नु उचित?

मौसम पूर्वानुमान अनुसार, नदी किनार, डुबान हुने क्षेत्र, पहिरो सम्भावित स्थान तथा सवारी सञ्चालनमा विशेष सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन्। पहिरो, बाढी तथा सडक अबरुद्धजस्ता प्राकृतिक विपदबाट जोगिनका लागि आम नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

  • Jigyasanepal

थप