काठमाडौँ, २६ कात्तिक | इजरायलले लेबनानको बेरुत नजिकको बायब्लोस क्षेत्रमा गरेको आक्रमणमा २३ जनाको मृत्यु भएको छ। मृतकमा सात बालबालिका पनि रहेका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलको हवाई आक्रमण अलमत भन्ने स्थानमा भएको हो।
इजरायलको रक्षा बलले भने आक्रमण हिजबुल्लाहको ठाँउमा लक्षित गरिएको बताएको छ। यद्यपि, इजरायली अधिकारीहरूले नागरिक जीवनलाई हानि नगर्नका लागि पूर्ण सतर्कता अपनाइएको र हवाई निगरानी र गुप्तचर प्रणालीको सही प्रयोग गरिएको दाबी गरेका छन्।
इजरायलले हालका दिनमा इरान समर्थित लेबनानको सशस्त्र समूह हिजबुल्लाहलाई निशाना बनाएर आक्रमण गरिरहेको छ। यस अघि शनिबार पनि इजरायलले गरेको आक्रमणमा ५३ जनाको मृत्यु भएको थियो।
गाजा क्षेत्रका बारेमा पनि इजरायलका आक्रमण जारी रहेका छन्। आइतबार दुई वटा घरमा हवाई हमलाले ३० जनाको ज्यान लिएको छ।
गत वर्ष, अक्टोबर ७ मा, हमास लडाकुहरूले इजरायलमा आक्रमण गर्दा १,२०० जनाको मृत्यु भएको थियो, जसमा १० नेपाली नागरिक पनि थिए। हमासले नेपालका विपिन जोशीसहित २५१ जनालाई बन्धक बनाएको थियो, र केहीलाई रिहा गरेपनि विपिन जोशीको अवस्था अझै अज्ञात छ।
इजरायल र हमासबीचको यो द्वन्द्वले अहिलेसम्म ४४,००० भन्दा बढीको मृत्यु गरिसकेको छ, जसमा निर्दोष महिलाहरू र बालबालिकाहरूको पनि समावेश छ। लाखौँ मानिस विस्थापित भएका छन्।
- RSS