क्यालिफोर्नियामा रहेका नेजाका आजीवन सदस्य जीवन्त वाग्ले ब्रेन ट्युमरबाट गम्भीर, जोनम्युअर अस्पतालमा शल्यक्रियापछि उपचाररत

  •   १ वर्ष अघि | ३ साउन २०८२, शनिबार

सान फ्रान्सिस्को, अमेरिका –

नेपाल अमेरिका पत्रकार संघ (नेजा) का आजीवन सदस्य जीवन्त वाग्ले गम्भीर बिरामी हुनु भएको छ। ब्रेन ट्युमरको समस्याबाट पीडित वाग्ले हाल क्यालिफोर्नियाको वालनटक्रिकस्थित जोनम्युअर अस्पतालमा उपचाररत हुनुहुन्छ।

वाग्ले सान फ्रान्सिस्को बे एरियामा बस्दै आउनुहुन्थ्यो। सन् २०२५ जुलाई ६ तारिख, शनिबार उहाँलाई अत्यधिक टाउको दुखाइ भएपछि मार्टिनेज अस्पतालको इमर्जेन्सीमा लगिएको थियो। त्यस राति नै थप परीक्षणपछि उहाँलाई जोनम्युअर अस्पताल रिफर गरिएको थियो।

🧠 जटिल शल्यक्रिया, अझैसम्म होस फर्किन सकेको छैन

जुलाई ७, सोमवार उहाँको ब्रेन ट्युमरको शल्यक्रिया गरिएको हो। यद्यपि, शल्यक्रियापछि हालसम्म पनि उहाँको पूर्ण होस फर्किन सकेको छैन, उहाँकी श्रीमती नम्रता बाँस्तोलाले जानकारी दिनुभयो।

उहाँका अनुसार ट्युमरको बायोप्सी रिपोर्ट आएपछि मात्रै रोगको थप पुष्टि हुने र चिकित्सकले उपचारको आगामी योजना स्पष्ट पार्ने बताइएको छ। अहिले नै वाग्लेको स्वास्थ्य सुधार कति सम्भव छ, कति समय लाग्छ, भन्ने विषयमा निश्चित जानकारी नआएको परिवारको भनाइ छ।

❝ वाग्ले पूर्ववत् अवस्थामा फर्कन सक्ने वा नसक्ने भन्ने समेत यकिन छैन ❞

उपचारमा संलग्न चिकित्सकहरूले वाग्ले भविष्यमा पहिलेको जस्तो अवस्था फर्कन सक्ने वा नसक्ने भन्नेमा पनि कुनै निश्चित आश्वासन दिन नसकेको परिवारले जनाएको छ।

🙏 नेजाको तर्फबाट शीघ्र स्वास्थ्यलाभको कामना

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को तर्फबाट अध्यक्ष मञ्जुला कोइराला र महासचिव ईश्वरी न्यौपानेले जीवन्त वाग्लेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै गहिरो चिन्ता व्यक्त गर्नुभएको छ।

"नेजाका आजीवन सदस्य वाग्लेजस्तो सक्रिय र समर्पित व्यक्तित्वको स्वास्थ्य अवस्था गम्भीर हुनु दुःखद छ। हामी उहाँको शीघ्र स्वस्थ लाभको कामना गर्दै उहाँ र उहाँका परिवारप्रति एकताको भाव प्रकट गर्दछौं," महासचिव न्यौपानेले एक विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ।

  • Jigyasanepal

थप