आज पनि झन् झन् भीषण वर्षाको सम्भावना! चार प्रदेशमा दिउँसै ‘धेरै भारी वर्षा’ को चेतावनी, सचेत रहन आग्रह

  •   १ वर्ष अघि | २० साउन २०८२, मङ्लबार

साउन २०, २०८२, मंगलबार, काठमाडौँ ।

देशभरको मौसम फेरि बिग्रने संकेत देखिएको छ। विशेषगरी लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशमा दिउँसो भारीदेखि धेरै भारी वर्षा को सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ।

आज बिहान ६ बजे जारी गरिएको २४ घण्टे बुलेटिन अनुसार, दिनभर नै देशभर आकाश बदली रहनेछ, र अधिकांश क्षेत्रमा वर्षाको क्रम जारी रहनेछ। कोसी र मधेस प्रदेशमा पनि केही स्थानमा मध्यम वर्षा हुने सम्भावना प्रवल छ।

 राति झन् सतर्कता आवश्यक

मौसमविद्हरूका अनुसार, आज राति पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्छ। बाँकी प्रदेशहरूमा पनि थोरै स्थानमा पानी पर्ने सम्भावना छ।

विशेषतः लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ‘धेरै भारी वर्षा’ हुने देखिएकोले तटीय, डुबानग्रस्त वा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेकालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

📊 वर्षा मापनको वैज्ञानिक विवरण

वर्षाको मात्रालाई यथार्थ रूपमा बुझ्न महाशाखाले दिएको विवरणअनुसार:

१० मि.मि.भन्दा कम – हल्का वर्षा

१०–५० मि.मि. – मध्यम वर्षा

५०–१०० मि.मि. – भारी वर्षा

१००–२०० मि.मि. – धेरै भारी वर्षा

२०० मि.मि.भन्दा बढी – अति भारी वर्षा

त्यस्तै,८०% भन्दा बढी क्षेत्रमा वर्षा – अधिकांश स्थानमा वर्षा

५०%–८०% – धेरै स्थानमा वर्षा

३०%–५०% – केही स्थानमा वर्षा

१०%–३०% – थोरै स्थानमा वर्षा

१०% भन्दा कम – एक–दुई स्थानमा वर्षा

आजको दिन विशेष ध्यान दिनुपर्ने दिन हो।

बाढी, डुबान, पहिरो जस्ता प्राकृतिक जोखिमको सम्भावना रहेकाले स्थानीय प्रशासनको सूचना पालना गर्न र सुरक्षित रहन मौसमविद्हरूको अनुरोध छ।

 यदि तपाईं यात्रा वा खुला क्षेत्रमा रहने योजना बनाउँदै हुनुहुन्छ भने, आजको दिनका लागि पुनर्विचार गर्नु नै बुद्धिमानी हुने देखिन्छ।

  • Jigyasanepal

थप