गोरखा, कात्तिक १८, २०८२ मङ्गलबार
गोरखाको दुर्गम पाङबारी हिमालमा आरोहणका क्रममा हराइरहेका दुई इटालियन आरोहीको शव पाँच दिनपछि फेला परेको छ। लगातारको हिमपात र कठोर मौसमबीच खोजतलास गर्दा उनीहरू पाङबारी हिमालको पहिलो शिविरमा मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार मृतकहरू इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटो हुन्। दुवै जनाको शव हिउँले पुरिएको अवस्थामा फेला परेको र हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएका छन्।
गत बुधबारदेखि पाङबारी हिमालबाट फर्कने क्रममा उनीहरू हराइरहेका थिए। हिमाल आरोहण गर्न नसकेपछि फर्कने क्रममा आएको हिमपातले उनीहरूलाई अलपत्र पारेको अनुमान गरिएको छ।
ती आरोहीहरूसँगै रहेका इटालियन नागरिक ६५ वर्षीय भेल्टर परलिनोलाई भने आइतबार हेलिकोप्टरबाट जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ। परलिनोसँगै रहेका नेपाली सहयोगीहरू — पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङ — लाई पनि सोही दिन उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको डीएसपी श्रेष्ठले जानकारी दिए।
पाङबारी हिमाल आरोहण टोली केही हप्ता अघि मात्र इटालीबाट नेपाल आएको थियो। आरोहण टोलीले अनुमति प्राप्त गरी स्थानीय गाइडहरूको सहयोगमा हिमाल आरोहण सुरु गरेको थियो। तर, गत हप्तादेखिको लगातार हिमपात र चिसोले उनीहरूलाई गम्भीर संकटमा पारेको थियो।
घटनापछि नेपाली प्रहरी, स्थानीय गाइड र उद्धार टोलीले समन्वयमा खोजतलास कार्य तीव्र पार्दा शव फेला पारिएको हो। अहिले मृतकहरूको शव पोस्टमार्टम र औपचारिक प्रक्रिया पूरा गरी स्वदेश पठाउने तयारी भइरहेको बताइएको छ।
यो घटनाले फेरि एकपटक नेपालको हिमाल आरोहण क्षेत्रको जोखिम र चुनौतीलाई उजागर गरेको छ। हिउँद सुरु हुनासाथ आरोहण जोखिमपूर्ण हुने भएकाले भविष्यमा यस्ता आरोहणका लागि थप तयारी र सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्नुपर्ने विशेषज्ञहरूको सुझाव छ।
-
Jigyasanepal