असोज १६, २०८२ बिहीबार, काठमाडौँ ।
आज असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीक विजया दशमी (टीका–जमरा दिवस) देशभर श्रद्धा, विश्वास र उल्लासका साथ मनाइँदैछ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज टीका लगाउनको लागि बिहान ११:५३ बजे उत्तम साइत रहेको छ।
टीका लगाउँदा कता फर्कने ?
समितिका अनुसार,
टीका लगाइदिने मान्यजन पश्चिम फर्कनुपर्छ
टीका ग्रहण गर्ने व्यक्ति भने पूर्व फर्कनुपर्छ
यसरी पूर्व–पश्चिम दिशाको सन्तुलनमा बसेर टीका–जमरा आदानप्रदान गर्नुपर्छ भन्ने धार्मिक परम्परा छ।
धार्मिक–सांस्कृतिक महत्व
त्रेतायुगमा भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेको दिनकै सम्झनामा विजया दशमी पर्व मनाउने गरिएको विश्वास छ। आज गुरु–पुरोहित, हजुरबा–हजुरआमा, आमाबुबा र अन्य मान्यजनले टीका–जमरा लगाइदिँदा विशेष वैदिक मन्त्रसहित आशीर्वाद दिने चलन छ।
आशीर्वादका मन्त्र
टीका लगाउँदा तलका वैदिक आशीर्वाद उच्चारण गरिन्छ–
पुरुषका लागि :
“आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।”
अर्थ :
तिमीमा अश्वत्थामाको जस्तो आयु, दशरथको जस्तो श्री, रामको जस्तो शत्रु विजयी शक्ति, नहुषको जस्तो ऐश्वर्य, वायुवत् गति, दुर्योधनको जस्तो मान, भीष्मको जस्तो शौर्य, बलरामको जस्तो बल, कर्णको जस्तो दानशीलता, विदुरको जस्तो ज्ञान–विज्ञान र नारायणको जस्तो कीर्ति रहोस्।
महिलाका लागि :
“जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।”
अर्थ :
जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधाका रूपमा प्रकट हुने शक्तिशाली देवीलाई नमस्कार गर्दै, तिम्रो जीवनमा सुख, शान्ति र विजय रहोस्।
टीका कहिलेसम्म ?
आज मात्र नभई कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका–जमरा ग्रहण गर्न सकिने प्रचलन छ।
-
Jigyasanepal