(जिज्ञासा नेपाल / काठमाडौँ, कार्तिक ३, २०८२ सोमबार)
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर लक्ष्मी पूजाको उल्लास छ। धन, ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको आराधनामा आज साँझ घर–घरमा दीपावली गरी लक्ष्मी पूजा गरिँदैछ।
आजको दिनलाई ‘सुखरात्री’ पनि भनिन्छ। शास्त्रीय मान्यताअनुसार जसको घर सफा र सुग्घर हुन्छ, त्यहीँ लक्ष्मी प्रवेश गर्छिन्। त्यसैले बिहानैदेखि देशभर घरघरमा सरसफाइ, लिपपोत र सजावटको रौनक छ। झ्याल, ढोका, भित्ताभर्याङदेखि आँगन र कौसीसम्म दीप बालेर लक्ष्मीलाई आमन्त्रण गर्ने परम्परा चलिआएको छ।
घरको आँगनदेखि मूलढोका हुँदै पूजा कोठासम्म गाईको गोबर र रातो माटोले लिपपोत गरी अबिर र चामलको पीठोले लक्ष्मीको पाइला बनाइन्छ। पाइलैपिच्छे माटो वा केराको पालामा दीप प्रज्ज्वलन गरिन्छ। यसरी दीपावली गरेर लक्ष्मी आउने बाटो देखाइन्छ।
सन्ध्याकालमा पूजा कोठामा गणेश र कलशसहित लक्ष्मी स्थापना गरी गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमालाले विधिपूर्वक पूजाआराधना गरिन्छ। यस अवसरमा छोरी, चेली र सानातिना केटीहरूलाई लक्ष्मीको प्रतीक मानी दक्षिणा दिने चलन पनि रहिआएको छ।
धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार, लक्ष्मीपूजापछि घरका नारीहरूले मध्यरातमा नाङ्लो ठटाउँदै ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय परम्परा छ।
आजको रात घर–घरमा झिलीमिली दीपावलीसँगै युवतीहरूले समूह बनाएर भैलो खेल्ने परम्परा पनि उतिकै उल्लासपूर्ण हुन्छ। भगवान् विष्णुले बलिराजालाई स्वर्ग, मर्त्य र पाताल तीनै लोकको शासन गर्ने वरदान दिएको स्मरणमा ‘भलो होस्’ भन्ने शुभकामनासहित भैलो खेल्ने गरिएको धार्मिक मान्यता छ। समयक्रममा यही ‘भलो होस्’ शब्द अपभ्रंश भई ‘भैलो’ बनेको बताइन्छ।
भैलो खेल्न आउनेहरूलाई धान, चामल, सेलरोटी, पैसा र फूलमाला दिने प्रचलन छ। कात्तिक महिनाको दान पुण्यदायी मानिने भएकाले आजको दान विशेष शुभ मानिन्छ।
यस अवसरमा शहर बजार झिलिमिली बत्तीले सजिएका छन्। बैंक, व्यापारिक प्रतिष्ठान, घर र गल्लीहरूमा दीपावलीको आकर्षक झल्को देखिन्छ। कतिपय कुल परम्परा अनुसार आजै बिहान गाईको पूजा गर्ने चलन पनि रहिआएको छ।
शास्त्रीय रूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदादेखि मात्र गाईपूजा गर्ने उल्लेख छ।
आजको लक्ष्मी पूजासँगै देशभर तिहारको रौनक झन् बढेको छ, दीपावलीले रात झिलिमिली र हृदय श्रद्धाले उज्यालो बनाएको छ।
-
Jigyasanepal