काठमाडौं, पुस २४ । काठमाडौंको शंकरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने चारै जनाको पहिचान खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दुर्घटनामा मृत्यु हुने अर्का एक जना पाँचथर स्थायी घर भई गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बू रहेको पुष्टि भएको छ। यसअघि तीन मृतकको पहिचान खुलिसकेको थियो भने लिम्बूको पहिचान हुन बाँकी थियो।
दुर्घटनामा ज्यान गुमाउने अन्य तीन जनामा बाँकेको कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङकी ५१ वर्षीया इन्दिरा लिम्बू र काठमाडौंको पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ती गुप्ता रहेका छन्।
प्रहरीका अनुसार दुर्घटनामा २२ जना घाइते भएका छन्।
घटना मंगलबार साँझ शंकरापुर नगरपालिका–३ फेदी जंगलस्थित सडक खण्डमा भएको हो। जर्सिपौवा वनभोजमा सहभागी भएर साँखुतर्फ फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।
घाइतेहरूको शंकरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल (साँखु), नेपाल मेडिकल कलेज (जोरपाटी), पिपुल्स लाइफ केयर अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
-
Jigyasanepal