काठमाडौँ । इरानमा पछिल्ला १० दिनदेखि जारी विरोध प्रदर्शन अझै नियन्त्रणमा आउन सकेको छैन। प्रदर्शनका क्रममा भएको हिंसामा २ सुरक्षाकर्मीसहित कम्तीमा ३६ जनाको मृत्यु भएको छ।
इरानस्थित ह्युमन राइट्स् एक्टिभिस्ट्स् न्युज एजेन्सी (एचआरएएनए) का अनुसार मृत्यु हुनेमध्ये ३४ जना प्रदर्शनकारी र दुई जना सुरक्षाकर्मी रहेका छन्। यद्यपि, इरानी सरकारी निकायहरूले हालसम्म मृतकको आधिकारिक संख्या सार्वजनिक गरेका छैनन्। सरकारी अधिकारीहरूले भने तीन सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि गरेका छन्।
यसैबीच, बीबीसी फारसी ले अहिलेसम्म २० जनाको मृत्यु भई पहिचान पुष्टि भएको जनाएको छ।
एचआरएएनएका अनुसार, हिंसात्मक घटनामा ६० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् भने २ हजार ७६ जनालाई पक्राउ गरिएको छ।
महँगी, बेरोजगारी र गहिरिँदो आर्थिक संकटका कारण सुरु भएको विरोध प्रदर्शन हाल इरानका ३१ प्रान्तमध्ये २७ प्रान्तमा फैलिएको छ। लगातारको हिंसा र दमनले इरानको आन्तरिक अवस्था थप तनावपूर्ण बन्दै गएको छ।
-
Jigyasanepal