काठमाडौं । - मकवानपुरको भीमफेदी गाउँपालिका–८ दोभानस्थित नेपाली सेनाको सडक निर्माण कार्यदल सिस्नेरी बेस क्याम्पमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
घटना क्याम्पभित्र सञ्चार उपकरणको पाइप गाड्ने क्रममा घटेको हो। हाइटेन्सन लाइनमा पाइपले छोएपछि करेन्ट लागेर डडेलधुराको गन्याधुरा गाउँपालिका–१ का २९ वर्षीय लेसनायक पदमबहादुर दियालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
घटनामा डडेलधुराको अमरगढी नगरपालिका–२ निवासी २९ वर्षीय लेसनायक विनोद केसी र पाल्पा रामपुर नगरपालिका–६ का २१ वर्षीय सिपाही युवराज कुमाल घाइते भएका छन्। दुवै घाइतेलाई हेलिकप्टरमार्फत उपचारका लागि आर्मी अस्पताल छाउनी, काठमाडौँ ल्याइएको छ भने मृतकको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँमा पोस्टमार्टमका लागि पठाइएको छ।
- Jigyasa media