पनौती (काभ्रे)।
मध्यरातको शान्त वातावरणलाई चिर्दै काभ्रे पनौती–बनेपा सडकखण्डमा एक दर्दनाक दुर्घटना भएको छ। पनौती नगरपालिका–५ आइटी पार्क गेट अगाडि भएको उक्त दुर्घटनामा १८ वर्षीय युवकले घटनास्थलमै ज्यान गुमाएका छन्।
बनेपाबाट पनौतीतर्फ तीव्र गतिमा आउँदै गरेको बागमती प्रदेश–०२–०१७ प ०४०६ नम्बरको मोटरसाइकल अनियन्त्रित बन्दै गएर पनौतीबाट बनेपातर्फ उभ्याएर राखिएको बा २ ख ७३५० नम्बरको गिट्टी लोड ट्रिफरमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बाके नेपालगन्ज स्थायी घर भई हाल काभ्रे पनौती–७ बस्दै आएका १८ वर्षीय सुदिप खत्रीको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ। तीव्र गति, रातिको कम दृश्यता र सडकमा उभ्याइएको भारी गाडीले दुर्घटना भयावह बनेको सुरुवाती निष्कर्षमा उल्लेख गरिएको छ।
घटनापछि प्रहरीले ट्रिफर र मोटरसाइकल दुवै नियन्त्रणमा लिई आवश्यक मुचुल्का कार्य अघि बढाइसकेको छ। साथै, दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान सुरु गरिएको पनौती प्रहरीले जनाएको छ।
स्थानीयले रातिको समयमा सडक किनारमा भारी गाडी असुरक्षित रूपमा राखिने प्रवृत्तिले निरन्तर दुर्घटना बढिरहेको भन्दै कडा नियमनको माग गरेका छन्।
-
Jigyasanepal