काठमाडौँ - जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिनले आगामी तीन दिन भारी वर्षाको सम्भावनासँगै देशका प्रमुख नदीहरूमा बाढीको उच्च जोखिम रहेको चेतावनी दिएको छ। विभागले असोज ११ देखि १३ सम्म ठाउँठाउँमा मध्यमदेखि अत्यधिक वर्षा हुने सम्भावना रहेको र यसले जल सतह वृद्धि गराउन सक्ने बताएको छ।
विशेषगरी नारायणी नदी असोज ११ र १२ गते उच्च जोखिममा रहेको छ भने कन्काई नदी ११ गते उच्च र अन्य समयमा मध्यम जोखिममा रहने जनाइएको छ। साथै, कमला नदी असोज ११ मा उच्च र १२ मा मध्यम जोखिम रहेको छ। बागमती नदीको पँधेरा दोभान क्षेत्रमा पनि असोज ११ र १२ गते उच्चदेखि अति उच्च जोखिम रहने बताइएको छ।
राप्ती नदी र बबई नदी जस्ता नदीहरूमा पनि आगामी दुई दिनको वर्षाका कारण जल सतहमा वृद्धि हुने सम्भावना छ। ती नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
विभागले बाढी तथा जलसतहका खतराहरूलाई ध्यानमा राख्दै, प्रभावित क्षेत्रका बासिन्दाहरूलाई आगामी तीन दिन उच्च सतर्कता अपनाउन सल्लाह दिएको छ। असोज १४ गतेदेखि भने यो प्रणाली कमजोर हुने अनुमान छ।
विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले नदी आसपास र पहाडी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै, उच्च जोखिम भएका ५६ जिल्लामा रात्रिकालीन बस सञ्चालन नगर्न निर्देशन दिएको जानकारी दिए।
- Jigyasa media