काठमाडौं, कात्तिक १८ – काठमाडौँको रानीपोखरीमा रहेको ऐतिहासिक बालगोपालेश्वर मन्दिर आज भाइटीकाको अवसरमा सर्वसाधारणका लागि खुला हुँदैछ। प्रत्येक वर्ष तिहारको भाइटीका दिनमा मात्र खुल्ने यो मन्दिर दिदीबहिनी वा दाजुभाइ नहुनेहरूको लागि विशेष महत्व राख्दछ। उनीहरू यस मन्दिरमा गएर पूजा, दर्शन गर्दै टीका लगाउने परम्परा रहेको छ।

नेवार समुदायमा भाइटीका दिवसलाई 'किजापूजा' का रूपमा पनि मनाइन्छ, जसमा दिदीबहिनी वा दाजुभाइ नभएकाहरूले मन्दिरमा गई आफन्तहरूसँग पूजा गर्छन्। यस वर्ष नेवार समुदायका केहीले शनिबार नै किजापूजा मनाइसकेका छन्।
इतिहासअनुसार, मल्लकालमा राजा प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको मन बुझाउन रानीपोखरी तथा बालगोपालेश्वर मन्दिरको निर्माण गरेका थिए।
यस्तै, आज काठमाडौँको जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले पूजा गर्ने र टीका लगाउने परम्परा छ।
- Jigyasa media