Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

ठेकेदारको निधनपछि पक्की पुल अलपत्र, बर्सेनि काठेपुलको टेकोमा बाँच्ने बासिन्दा

  •   २ वर्ष अघि | ४ मंसिर २०८१, मङ्लबार

बझाङ, मंसिर ४ – सुदूरपश्चिमको बझाङमा सेती नदीमाथि झोलुंगे पुल निर्माणको प्रतीक्षा अझै टुंगिएको छैन। २०७८ सालमा बाढीले झोलुंगे पुल बगाएपछि यहाँका स्थानीय बासिन्दा तीन वर्षदेखि आवागमनको समस्या झेलिरहेका छन्।

पुल निर्माणको सरकारी योजना थालिएको भए पनि ठेकेदारको असामयिक निधनले काम रोकिएको छ। यसले गर्दा बझाङको केदारस्यूँ गाउँपालिका र थलारा गाउँपालिकाका हजारौं नागरिक झोलुंगे पुलबिना दैनिक दुःख व्यहोर्न बाध्य छन्।


काठेपुलको आश्रयमा तीन वर्ष

झोलुंगे पुलको अभावमा स्थानीय सरकारले हिउँदमा काठेपुल बनाएर समस्या समाधान गर्न खोजे पनि बर्खामा ती पुल बग्ने क्रम रोकिएको छैन। हरेक वर्ष ३ लाख रुपैयाँ खर्चेर बनाइने काठेपुल वर्षायामपछि बगाउँदा बासिन्दा फिरि दोब्बर सास्तीमा पर्छन्।

थलाराका स्थानीय पर्शुराम जोशी भन्छन्, "पुल हुँदा १० मिनेटमा पुगिने देउरा बजार पुग्न अहिले दुई घण्टा लाग्छ। पसल सञ्चालन गर्न र सामान ओसार्न निकै गाह्रो भएको छ।"

स्थानीय नरदेवी बोहराले आफ्नो पसलमा ग्राहक आउन कम भएको गुनासो गरिन्। "पुल नहुँदा व्यापार लगभग ठप्पजस्तै छ। सामान ओसार्न र किनमेलका लागि बजार जानसमेत ठूलो चुनौती छ।"

ठेकेदारको निधन, पक्की पुल अलपत्र

२०८० सालमा १ करोड ५० लाख रुपैयाँको लागतमा पक्की पुल बनाउन ठेक्का दिइएको थियो। ठेकेदार डम्बर भट्टले १८ महिनाभित्र निर्माण सक्ने वाचा गरेका थिए। तर, उनको निधनपछि काम अलपत्र पर्‍यो। हाल ठेकेदारको छोरीले काम अघि बढाउने भनिए पनि परियोजना पुनः सुरु हुन सकेको छैन।

सभामुख भीमबहादुर भण्डारीले ठेकेदारको निधनपछि समस्या भएको भन्दै सबै पक्षसँग छलफल गरी पुल निर्माण अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीय सरकार र संघीय सरकारको पहल अपर्याप्त

पुल निर्माणमा स्थानीय र संघीय सरकारबीचको समन्वयको अभावले समस्या झन् बल्झिएको छ। सभामुख भण्डारी भन्छन्, "डिजाइन नगरी हचुवामा टेण्डर गरिएको थियो। शिलान्यास पनि हतारमा भयो। यसले गर्दा बजेट फ्रिज हुने र म्याद थप्ने प्रक्रियाले समस्या थप जटिल बनाएको छ।"

स्थानीयको जीवनमा संकट

दैनिक जीवनका कामदेखि विद्यालय र अस्पताल पुग्नसमेत कठिनाइ झेलिरहेका स्थानीयले पुल निर्माणमा भएको ढिलाइप्रति आक्रोश व्यक्त गरेका छन्।

"सभामुखको गृहक्षेत्रमा समेत पुल बन्न नसक्नु दुःखको कुरा हो," स्थानीय देवराज जोशी भन्छन्। "हामीले पुलबिना जति कष्ट झेले पनि सरकारको ध्यानाकर्षण भएजस्तो लाग्दैन।"

काठेपुलमै भर पर्ने बासिन्दा

पक्की पुल निर्माणको अन्योलबीच केदारस्यूँ र थलारा गाउँपालिकाले फेरि काठेपुल निर्माण गर्ने तयारी गरेका छन्। थलारा गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर रोकायका अनुसार, "मंसिरभित्रै काठेपुल निर्माण गरिनेछ।"

स्थानीय पूर्वाधार विकास कार्यालयले निर्माण सामग्री तयार भएको बताउँदै डेढ महिनाभित्र पक्की पुल सम्पन्न गरिने दाबी गरे पनि स्थानीय भने अझै अन्योलमा छन्।

पक्की पुलले मात्रै समाधान सम्भव

तीन वर्षदेखि काठेपुलको भरोसामा गुजारा चलाइरहेका स्थानीय बासिन्दालाई पक्की पुलले मात्र राहत दिन सक्नेछ। सरकारले तत्काल समस्या समाधानका लागि ठोस कदम चाल्नुपर्ने र पुल निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता महसुस गरिएको छ।

"हामीले हरेक वर्ष काठेपुल बनाउन र बगाउन होइन, स्थायी समाधान खोजिरहेका छौं। सरकारको गम्भीरता नबढेसम्म हाम्रो दुःखको चक्र टुंगिने छैन," स्थानीय हरिभक्त अधिकारीको

भनाइले यो संकटको गहिराइ प्रस्ट्याउँछ।


  • Jigyasa media

थप