रौतहट, साउन २९: बारामा माछा भात खाएपछि फूड पोइजनिङका कारण एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।
सिम्रौनगढ नगरपालिका झवानी गाउँका नरेश राम चमारका ९ वर्षीया छोरी लालिमा राम, ७ वर्षीया छोरी पुष्पा राम, र ५ वर्षीय छोरा कृष्णनन्दन रामको फूड पोइजनिङका कारण निधन भएको हो।
आईतबार राति माछा भात खाएपछि ती बालबालिकाहरूको स्वास्थ्य अवस्था अचानक बिग्रिएको थियो। स्थानीय स्तरमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल कलैया पुर्याइएको थियो। तर, उपचारकै क्रममा तीनैजना बालबालिकाको मृत्यु भएको छिमेकी राजदेव रामले जानकारी दिएका छन्।
बाराका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक सापकोटाले घटनाको पुष्टी गर्दै बालबालिकाहरूको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको बताएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
- Jigyasa media