काठमाडौं, जेठ १० । कवि सुमन थापा ‘सङ्गम’द्वारा लिखित कविता संग्रह ‘अभ्युदय’ शुक्रबार राजधानी काठमाडौंमा लोकार्पण गरिएको छ। विशेषता यो कार्यक्रम त्यस अर्थमा फरक रह्यो, जहाँ कविका ८४ वर्षीय पिता, छोरी र नातिनातिनीहरुसहित चार पुस्ताले संयुक्त रूपमा कृति सार्वजनिक गरे।
कार्यक्रमको सञ्चालन आफैँले गरेकी कवि सङ्गमले आफ्नै परिवारका चार पुस्तालाई साक्षी राख्दै साहित्यजगतका सम्मानित व्यक्तित्वहरूकै उपस्थितिमा कृति विमोचन गर्न पाउनु आफैँमा सन्तोषको विषय भएको बताइन्। “यो भन्दा खुशी मेरो लागि के छ र!” उनको आत्मीय भनाइ थियो।
कार्यक्रममा कवि श्रीबाबु कार्की, रमी प्रिया, विश्व सिग्देल र प्रोल्लास सिन्धुलीयले ‘अभ्युदय’ भित्र समावेश कविताहरू वाचन गर्दै कार्यक्रमलाई थप साहित्यिक उचाइ दिएका थिए। त्यस्तै, कविले पनि केही आफ्नै कविता प्रस्तुत गर्दै समापन गरिन्।
प्रेमका विविध आयाम समेटिएको संग्रह
कार्यक्रममा ‘अभ्युदय’ कृतिबारे समालोचक डा. शेखर कुमार श्रेष्ठले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए। उनले कृतिमा प्रेमका विविध आयाम समेटिएको उल्लेख गर्दै भने, “बाबुआमा प्रतिको प्रेम, प्रेमी–प्रेमिकाको प्रेम, मातृभूमिप्रेम, पशु र प्रकृतिप्रतिको प्रेमजस्ता विषयवस्तुहरू कवितामा गहिरो रूपमा प्रस्तुत छन्।”
उनले कविताहरूमा कविका आत्मगत पीडा, आशा, निराशा, स्वच्छन्दतावाद र प्रतीकात्मक चेत झल्किएको बताए। “सुन्दर र मिहिन ढंगले प्रतीक र बिम्ब प्रयोग गरिएका छन्। कवितालाई दुःख–सुखको अभिव्यक्तिको माध्यम बनाइएको छ,” श्रेष्ठले बताए।
कविको परिवारबाट आत्मीय सहभागिता
कार्यक्रममा कविकी छोरी समिक्षा के.सी.ले स्वागत मन्तव्य दिँदै आमाको साहित्यिक यात्रामा साक्षी हुन पाउनु गौरवको विषय भएको बताइन्। “ममिको खुशीमा सहभागी हुनुभएका सबै आदरणीयजनहरूलाई हार्दिक आभार प्रकट गर्दछु,” उनले भनिन्।
अनौपचारिक ढंगले सम्पन्न भएको कार्यक्रममा आत्मीयता, भावुकता र साहित्यिकता मिसिएको वातावरण छाएको थियो।
-
Jigyasanepal