काठमाडौं । नेपाली साहित्यका एक स्तम्भ, प्रख्यात साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ।
भारतको आसामका स्थायी बासिन्दा क्षेत्रीको गएराति गुवाहाटीमा निधन भएको हो। साहित्यिक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले उनको निधनको पुष्टि गरेका छन्।
क्षेत्रीले आफ्नो कलममार्फत नेपाली साहित्यमा अभूतपूर्व योगदान दिएका थिए। उनका चर्चित कृतिहरूमा बसाइँ, अतृप्त, ब्रह्मपुत्रको छेउछाउ उपन्यास, आसाममा नेपाली भाषाको साह्रोगाह्रो निबन्ध संग्रह, साथै कथा, निबन्ध, नाटकसमेत समेटिन्छन्। नेपाली साहित्यको श्रीवृद्धिमा उनले पुर्याएको योगदान अमूल्य मानिन्छ।
जगदम्बाश्री पुरस्कार प्राप्त क्षेत्री भानु पुरस्कारलगायत विभिन्न सम्मानबाट विभूषित थिए। भारत सरकारले उनलाई सर्वोच्च नागरिक सम्मान ‘पद्मश्री’बाट समेत सम्मान गरेको थियो।
उनको निधनसँगै नेपाली साहित्यले एक युग गुमाएको अनुभूति साहित्यिक वृत्तमा छाएको छ।
- Jigyasa media