काठमाडौं, वैशाख १० । मौलिक लोकगीत सर्जक तथा गायिका लक्ष्मी तिवारी (तिवारी आमा) 'दमन्ता खनाल स्मृति स्रष्टा सम्मान'बाट सम्मानित भएकी छिन्।
नेपाल स्रष्टा समाजले राजधानीमा आयोजित विशेष समारोहमा तिवारी आमालाई नगद २० हजार १ सय ११ रुपैयाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान प्रदान गरेको हो। सम्मान वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठ, समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, संरक्षक पवन आलोकलगायतले संयुक्तरूपमा समर्पण गरे।
कार्यक्रममा वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठले सम्मान प्रदानको अवसरलाई आमाप्रतिको माया र श्रद्धा प्रकट गर्ने भावनात्मक क्षणका रूपमा वर्णन गर्दै भनिन्, “गाउँघरमा रहेका दिदीबहिनीहरु पनि प्रतिभाशाली हुन्छन् भन्ने ज्वलन्त उदाहरण लक्ष्मी तिवारी हुन्।”
त्यस्तै, समाजका संरक्षक पवन आलोकले सम्मान प्राप्तकर्ता र सम्मान स्थापना गर्ने दुवैलाई आभार व्यक्त गर्दै स्रष्टाको योगदानको कदर गर्नुपर्ने आवश्यकता औंल्याए।
डा. शान्तिमाया गिरिले तिवारी आमाको सांगीतिक यात्रा र योगदानबारे प्रकाश पार्दै भनिन्, “विद्यालयमा जम्मा दुई कक्षा पढेकी भए पनि तिवारीले समाजका विकृति र विसंगतिहरूलाई सिलोक, तीज, रोइला र रत्यौली गीतमार्फत उजागर गर्दै आइरहेकी छन्।” उनले तिवारीलाई ‘समाजसँग जुध्ने मौलिक स्रष्टा’ को संज्ञा दिइन्।
पुरस्कृत स्रष्टा तिवारीले भावुक हुँदै भनिन्, “उतिबेला छोरीले पढ्नु हुँदैन भन्ने सोचले गर्दा पढ्न पाइनँ, तर गीतमार्फत आफ्ना अनुभूति र समाजको पीडा व्यक्त गर्दै आएकी छु।” कार्यक्रममा उनले आफ्नै स्वरमा राष्ट्रिय भावना झल्किने गीत, छोरीको पीडा झल्काउने भाकाहरू र रामपूरको गौरव प्रस्तुत गरिन्।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले सम्मान राजधानीमा मात्र केन्द्रित हुनुपर्छ भन्ने सोच तोडिएको उल्लेख गर्दै भने, “नेपाल स्रष्टा समाज राजधानीका मात्र होइन, मुलुकभरिका प्रतिभालाई सम्मानित गर्न कटिबद्ध छ।”
गीतकार पुष्पा खनालले २०७५ सालमा आफ्नी आमाको नाममा यो सम्मानको थालनी गरेकी हुन्। आयोजकका अनुसार यो सम्मान विशेष गरी ओझेलमा परेका नारी स्रष्टाहरूलाई प्रदान गरिंदै आएको छ।
कार्यक्रमको सञ्चालन रञ्जना निरौलाले गरेकी थिइन् भने स्वागत मन्तव्य सचिव प्रकाश ‘घायल’ले दिएका थिए।
- H