भदौ १५, २०८१, काठमाडौं –सिर्जनात्मक गैरआख्यान साहित्यको क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यले लेखक गोपी सापकोटाको पछिल्लो कृति *'लन्डन अनप्लग्ड'* माथि हेटौँडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सापकोटाले आफ्नो पुस्तकको प्रेरणा, लेखन यात्रा, र आफूले सामना गरेका चुनौतीहरूलाई साझा गर्नुभयो।
सापकोटाले लामो समयदेखि लन्डनमा बसोबास गर्दै आएको अनुभवलाई आधार बनाएर लेखिएको यो पुस्तकले पाठकलाई यथार्थ र कल्पनाको संगममा डुबाउने प्रयास गरेको छ। उहाँले भन्नुभयो, "लन्डनको दैनिकीलाई चित्रण गर्न निकै कठोर भए पनि, यसले पाठकलाई नयाँ अनुभव प्रदान गर्नेछ।"
कार्यक्रममा उपस्थित साहित्यकार शान्ति प्रियवन्दनाले पुस्तकको समीक्षात्मक टिप्पणी गर्दै, 'पसिनाको ह्विस्की' शीर्षकको अध्यायलाई विशेष मन परेको बताउनुभयो। उहाँले भन्नुभयो, "सापकोटाको यो कृति सिर्जनात्मक आख्यानको रूपमा लेखिएको भए पनि, यसले निबन्धको झल्को दिन्छ।"

पुस्तक विमर्शका क्रममा सञ्चारकर्मी आशिष दुलालले आफ्नो १२ वर्षअघिको मकवानपुरदेखि मलेसियासम्मको यात्रा सम्झिँदै, पुस्तकले युरोप र अमेरिकाका गहिरा भावनात्मक पक्षहरूलाई उजागर गरेको बताउनुभयो। उहाँको भनाइमा, पुस्तकका बिम्बहरूले पाठकलाई आफ्नै पात्र भएको अनुभूति गराउँछन्।
यस्तै कार्यक्रममा पाठकीय टिप्पणी आशिष दुलालले गर्नु भएको थियो ।
कार्यक्रमलाई सहजीकरण गर्दै किताबघरका सञ्चालक छवि अनित्यले पुस्तकका केही अंशहरू वाचन गर्नुभयो, जसले उपस्थित दर्शकहरूको मन छोयो। कलम प्रकाशनका प्रमुख नरेन्द्र नगरकोटीले सापकोटाका अघिल्ला कृतिहरू प्रकाशन गर्न पाउँदा गौरव महसुस भएको बताउनुभयो।

लेखक सापकोटा
साहित्य सङ्गम/सिस्नुपानी मकवानपुरको सभाहलमा आयोजित यस कार्यक्रमले पाठकहरूलाई सापकोटाको लेखन यात्रा र उहाँको सिर्जनात्मक गैरआख्यानसँग परिचित गराएको सहभागीहरुले बताएका छन् ।
- Jigyasa media