Breaking News
विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

मोदनाथ खनालको 'मानिस किन बिदेसिन्छन्' लोकार्पण

  •   १ वर्ष अघि | १४ बैशाख २०८२, आइतवार

काठमाडौं । स्रष्टा मोदनाथ खनालद्वारा लिखित कृति 'मानिस किन बिदेसिन्छन्' को लोकार्पण राजधानीमा आयोजित एक कार्यक्रमका बीच सम्पन्न भएको छ।

कार्यक्रममा पूर्वराजदूत तथा परराष्ट्रविद् डा. दिनेशराज भट्टराई, पूर्वमन्त्री चीनकाजी श्रेष्ठ, वरिष्ठ पत्रकार किशोर नेपाल, नेपाली कांग्रेसका नेता गुरु बराल, सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष कवि छविरमण सिलवाल, प्रा.डा. मुकुन्द लामिछाने, समालोचक ज्ञानु अधिकारी तथा लेखक मोदनाथ खनालले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि डा. भट्टराईले बाल्यकालदेखि नेपालका विविध विशेषता समेटिएको यो कृति नेपालको वर्तमान राजनीतिक बेथिति उजागर गर्दै मानिस किन विदेशिन बाध्य हुन्छन् भन्ने विषयलाई गहिरो ढंगले प्रस्तुत गरेको बताए।

पूर्वमन्त्री चीनकाजी श्रेष्ठले वर्तमान नेपालको राजनीतिक अवस्थाप्रति रोष व्यक्त गर्दै भने, “राजनीति लोभीपापीहरूको अखडा बनेको छ। असल व्यक्तित्वहरू पछाडि परेका कारण देश दुरावस्थामा पुगेको हो। खनालजस्ता इमान्दार व्यक्तिहरूले नेपाल फर्केर राजनीतिमा सक्रिय हुन जरुरी छ।"

नेता गुरु बरालले पनि नेपालको राजनीतिक बेथिति प्रति असन्तुष्टि जनाउँदै नेताहरूको भनाइ र गराइमा फरक देखिएको टिप्पणी गरे।

कार्यक्रममा वरिष्ठ पत्रकार किशोर नेपालले लेखकलाई शुभकामना व्यक्त गरे। कृतिमाथि संक्षिप्त टिप्पणी गर्दै समालोचक ज्ञानु अधिकारीले भनिन्, “पुस्तकको शीर्षक नै मूर्त भएको छ। आजको समयको ज्वलन्त विषयमाथि भोगाइका आधारमा लेखिएको यो कृति हो, जसमा विदेशिएका नेपालीहरूको मनोदशा जीवन्त ढंगले चित्रण गरिएको छ। राजनीतिक दलहरू र नेताहरूको अदूरदर्शिताले नेपालीहरू विदेशिन बाध्य भएको यथार्थ कृतिमा उजागर गरिएको छ।”

प्रा.डा. मुकुन्द लामिछानेले भने, “दार्शनिक चेतनामा आधारित यस कृतिमा दर्शन र राजनीतिलाई मूल विषय बनाएर नेपालीहरू किन विदेशिन बाध्य भए भन्ने कारणहरू विश्लेषण गरिएको छ। तीन ठूला दलहरूको आपसी अर्कमण्यताका कारण नेपाली युवा विदेशिनु परेको कुरालाई यो कृतिले प्रष्ट पारेको छ।”

कृतिकार मोदनाथ खनालले लेख्न आफूलाई विशेष आनन्द मिल्ने बताए। उनले भने, “लेख लेख्छु भनेर सुरु गर्दा किताब तयार भयो। मैले आफ्ना भोगाइ र अनुभूतिहरूलाई पुस्तकमार्फत व्यक्त गरेको छु।”

कार्यक्रम सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन कवि तथा सञ्चारकर्मी ठाकुर बेलबासेले गरेका थिए भने प्रतिष्ठानका महासचिव कवि तथा नियात्राकार प्रदीप सापकोटाले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष कवि छविरमण सिलवालले गरेका थिए।

  • Jigyasanepal

थप