काठमाडौं ।
नारी चेतना, साहित्यिक योगदान र सामाजिक प्रतिबद्धताको संगम बनेर उभिएकी योगमाया न्यौपानेको स्मृतिमा स्थापना गरिएको ‘योगमाया राष्ट्रिय स्रष्टा सम्मान २०८२’ र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय स्रष्टा सम्मान २०८२’ बाट सुकन्या वाइवा र भूपाल बस्नेत आइतबार सम्मानित भएका छन्।
राजधानीमा आयोजित एक विशेष समारोहमा नेपाल स्रष्टा समाजले यी दुई स्रष्टालाई नगदसहितको सम्मान प्रदान गरेको हो। वाइवाले रु. २५,१११ र बस्नेतले रु. ५१,००१ नगद राशिसहित प्रमाणपत्र प्राप्त गरेका हुन्।

योगमायाको आदर्शबाट प्रेरित स्रष्टाहरु
समारोहकी प्रमुख अतिथि, वरिष्ठ साहित्यकार तथा महिला अधिकारकर्मी दुर्गा घिमिरेले योगमायाको योगदानलाई अत्यन्त प्रेरणादायी बताउँदै भनिन्,
> “म विगत चार दशकदेखि महिला अधिकारका क्षेत्रमा लागिरहेकी छु। योगमायाको विद्रोह, विचार र साहस आज पनि सान्दर्भिक छन्। उनका आदर्श आजको पुस्ताका लागि पनि उत्तिकै आवश्यक छन्।”
कार्यक्रमका सभाध्यक्ष एवं नेपाल स्रष्टा समाजका अध्यक्ष **ओम श्रेष्ठ ‘रोदन’**ले योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग राख्दै भने,
> “उहाँले उठाएका विषय, गरिएका त्याग र देखाइएको साहसको मूल्य अझै कदर हुन बाँकी छ। नेताहरुले कान्छी औंलाको उपचारका लागि विदेश जानुभन्दा पहिले एकचोटि योगमायाको जीवन पढे मात्रै पनि केही सुधार आउँथ्यो।”
सम्मानित स्रष्टाहरूको भावना
सम्मानित स्रष्टा सुकन्या वाइवाले आफूलाई सम्मान गर्दा स्व. पारिजातलाई सम्झिएको उल्लेख गर्दै भनिन्,
> “दिदी पारिजातले पनि योगमायालाई बहुआयामिक व्यक्तित्व मानेकी थिइन्। मलाई सम्मान गर्दा दिदी स्वयं सम्मानित भएको अनुभूति भएको छ।”
अर्का सम्मानित अभियन्ता भूपाल बस्नेतले भने,
> “मैले योगमायाको नाममा २०५० सालदेखि अभियान सञ्चालन गर्दै आएको छु। म योगमायाको थलो किरातभूमि भोजपुरको मान्छे हुँ। अब त्यहीँ योगमायाको नाममा आश्रम स्थापना गर्ने योजना पनि अघि बढाइरहेको छु।
स्रष्टा समाजद्वारा सशक्त आयोजनाः
कार्यक्रममा स्रष्टा समाजका सहसंयोजक मधु पाठकले सञ्चालन गरेका थिए भने उपाध्यक्ष डा. सडानन्द कडेलले स्वागत मन्तव्य दिए।
पुरस्कार संस्थापकहरू रेखा कँडेल, राजेश न्यौपाने, पवन आलोक, र न्यौपाने बन्धु समाजका अध्यक्ष बलराम न्यौपानेलगायतले योगमायाको योगदानबारे सम्बोधन गरे।
डा. शान्तिमाया गिरीले सम्मानित व्यक्तित्वहरूको कृतित्व र योगदानमाथि समिक्षात्मक टिप्पणी गरेकी थिइन्।
-
Jigyasanepal