Breaking News
आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

११ वर्षीय अभिक गौतमको ‘द वाइल्ड्स एन्ड वन्डर्स अफ भेनुआ आइल्याण्ड’ लोकार्पण, बालसाहित्यमा नयाँ ऊर्जा

  •   ५ महिना अघि | ९ फाल्गुन २०८२, शनिबार

काठमाडौं — ११ वर्षीय कक्षा ५ मा अध्ययनरत विद्यार्थी अभिक गौतमद्वारा लिखित पहिलो उपन्यास ‘द वाइल्ड्स एन्ड वन्डर्स अफ भेनुआ आइल्याण्ड’ विशेष समारोहका बीच लोकार्पण गरिएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा साहित्यकार तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा कृतिको औपचारिक विमोचन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल स्रष्टा समाजका अध्यक्ष तथा अग्रणी निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ले ९ वर्षकै उमेरमा उपन्यास तयार पार्नु सानो उपलब्धि नभएको उल्लेख गर्दै नेपाली साहित्यका लागि गर्वको विषय भएको बताए। उनले अभिकबाट आगामी दिनमा अझै उत्कृष्ट कृतिहरूको अपेक्षा रहेको धारणा व्यक्त गरे।

विशिष्ट अतिथि वरिष्ठ साहित्यकार तथा समालोचक प्रमोद प्रधानले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै उपन्यासमा यात्रा, रोमाञ्च र साहसिक तत्वको सशक्त संयोजन रहेको बताए। “यसले दश वर्षसम्मका बालबालिकालाई कस्तो साहित्य मन पर्छ भन्ने संकेत गर्छ,” उनले भने, “आफ्नै उमेर समूहको मनोविज्ञानलाई बुझेर सृजना गरिएको कृति भएकाले यसको विशेष महत्व छ।” उनले कम उमेरमै देखिएको कल्पनाशीलता, कथाको संरचना र प्रस्तुतीकरणको प्रशंसा गर्दै यस्ता प्रयासले बालबालिकामा पठनसंस्कृति र सिर्जनशीलताको प्रवर्द्धनमा टेवा पुग्ने बताए।

सञ्चारकर्मी विन्देश दहालले उपन्यासमा विचित्र जनावर र पृथक संसारको निर्माण गरिएको उल्लेख गर्दै कथामा आमाप्रतिको सम्मानभाव पनि सुन्दर ढंगले प्रस्तुत भएको बताए।

सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले बालसृजनालाई प्रोत्साहन गर्ने विद्यालय र परिवारप्रति धन्यवाद व्यक्त गरे।

कृतिकार अभिक गौतमले आफूले पाएको माया र हौसलाले थप उत्साह मिलेको बताउँदै उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे।

निसर्ग वाटिका विद्यालयका प्रधानाध्यापक मोनिका प्रधान तथा साहित्यकार भारद्वाज मित्रले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम नियात्राकार प्रदीप सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो भने भुँडीपुराण प्रकाशनका केशव पराजुलीले सभापतित्व गरेका थिए।

कार्यक्रममा लेखकका साना बहिनीहरू साम्राज्ञीसिंह कुँवर र अस्मि महतले बधाई ज्ञापन गरेका थिए। साथै साहित्यकार, परिवारका सदस्य, निसर्ग वाटिका विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको उक्त उपन्यास अभिकले ९ वर्षको उमेरदेखि लेख्न सुरु गरेका थिए। सन् २०२५ जुनमा प्रारम्भिक मस्यौदा पूरा भएको यस कृतिमा साहसिक तथा कल्पनाशील कथा मार्फत जिज्ञासा, साहस र अनपेक्षित यात्राले जीवनमा ल्याउने रूपान्तरणको विषयलाई प्रस्तुत गरिएको छ।

कम उमेरमै देखिएको सृजनात्मक क्षमता र साहित्यप्रतिको प्रतिबद्धताले अभिक गौतमलाई बालसाहित्यको उदीयमान हस्ताक्षरका रूपमा स्थापित गर्ने संकेत गरेको छ।

  • Jigyasanepal

थप