ललितपुर - चर्चित निबन्धकार ध्रुव जोशीको नयाँ निबन्धकृति ‘आफैंलाई खोज्दै’ को लोकार्पण एक भव्य समारोहका बीच सम्पन्न भएको छ। नेपाल स्रष्टा समाज केन्द्रीय समितिको आयोजनामा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार, प्राज्ञिक व्यक्तित्व, र लेखकहरू उपस्थित थिए।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. माधवप्रसाद पोखरेल तथा प्रा.डा. भरतकुमार भट्टराई, प्रकाश सायमी, श्रीओम श्रेष्ठ 'रोदन', प्रा.डा. रामकुमार पाँडे, पवन आलोक र स्वयं ध्रुव जोशीले संयुक्त रूपमा कृतिको लोकार्पण गरे।
प्रमुख अतिथि पोखरेलले ध्रुव जोशीका निबन्धमा कविताको गहिरो भाव र कथात्मक शैली मिसिएको उल्लेख गर्दै ८१ वर्षको उमेरमा पनि लेखनमा सक्रियता राख्नुभएकोमा प्रशंसा गरे। उनले जोशीका निबन्धहरूले पाठकको हृदयमा गहिरो प्रभाव पार्ने धारणा व्यक्त गरे।
कार्यक्रममा कृतिबारे प्रा.डा. भरतकुमार भट्टराईले विस्तृत चर्चा गर्दै जोशीका आत्मपरक निबन्धहरूको गहिराई र सौन्दर्यलाई उजागर गरे। अन्य वक्ताहरू प्रा.डा. रामकुमार पाँडे, प्रकाश सायमी, र पवन आलोकले पनि शुभकामना मन्तव्य राख्दै जोशीको लेखकीय योगदानको प्रशंसा गरे।
लेखक ध्रुव जोशीले आफ्ना निबन्धहरू लेखनको प्रेरणा र तिनको रचना प्रक्रियाबारे संक्षिप्त जानकारी गराउँदै, आफ्ना सिर्जनाहरूले पाठकको मन छुन सकोस् भन्ने अपेक्षा राखे।
कार्यक्रमका सभाध्यक्ष श्रीओम श्रेष्ठ 'रोदन'ले लेखन केवल शब्दहरूको खेल नभई पाठकको मन जित्ने कला भएको उल्लेख गरे। उनले जोशीका आत्मपरक निबन्धहरूले पाठकको मन खिच्न सफल हुने विश्वास व्यक्त गरे।
समारोहको सञ्चालन नेपाल स्रष्टा समाजका केन्द्रीय सदस्य मधु पाठकले गरेका थिए भने स्वागत मन्तव्य रञ्जना निरौलाले व्यक्त गरिन्।
कार्यक्रमले साहित्य क्षेत्रका थुप्रै स्रष्टाहरूलाई एकत्रित गर्दै नयाँ कृतिको परिचय गराउनुका साथै ध्रुव जोशीको रचनात्मकता र योगदानप्रति सम्मान व्यक्त गर्यो।
-
Jigyasanepal