काठमाडौं ।
संघीय संसद् को बजेट अधिवेशन आज सोमबारदेखि सुरु हुँदैछ। अधिवेशनको पहिलो दिन नै सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ।
रामचन्द्र पौडेल ले आज दिउँसो संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरि का अनुसार राष्ट्रपतिले अपराह्न ४ बजे संयुक्त बैठकलाई सम्बोधन गर्नेछन्।
नेपालको संविधानको धारा ९५ अनुसार प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था रहेको छ।
संसद् सचिवालयको तयारी पूरा
संसद् सचिवालय ले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई अपराह्न ३:४५ बजाभित्र संसद् भवनमा उपस्थित हुन अनुरोध गरेको छ। त्यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्ने कार्यतालिका तय गरिएको छ।
प्रतिनिधिसभाको बैठकमा:
राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइने,
मन्त्रिपरिषद् हेरफेरसम्बन्धी जानकारी गराइने,
सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यको मनोनयन,
प्रतिनिधिसभा नियमावली, २०७९ अन्तर्गतको बाधा अड्काउ फुकाउ अनुमोदन,
नियमावली मस्यौदा प्रस्तुत
लगायतका कार्यसूची तय गरिएको छ।
आठ अध्यादेश संसद्मा पेस हुने
सरकारले जारी गरेका विभिन्न अध्यादेश पनि आज संसद्मा पेस गरिने भएका छन्। तीमध्ये:
‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’,
‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’,
‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’
लगायत आठ अध्यादेश संसद्मा पेस गरिने संसद् सचिवालयले जनाएको छ।
ती अध्यादेशहरू राष्ट्रियसभा मा पनि प्रस्तुत गरिनेछ।
बजेट केन्द्रित हुनेछ अधिवेशन
आजबाट सुरु भएको अधिवेशन मुख्य रूपमा आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम र सरकारका प्राथमिकतामाथि केन्द्रित रहनेछ। आर्थिक सुस्तता, राजस्व संकलनमा आएको दबाब, विकास खर्चको अवस्था तथा रोजगारी सिर्जनालाई लिएर सरकारमाथि चुनौती बढिरहेका बेला प्रस्तुत हुने नीति तथा कार्यक्रमलाई विशेष चासोका साथ हेरिएको छ।
राजनीतिक वृत्तमा पनि यस अधिवेशनलाई अर्थतन्त्र, सुशासन, विकास र संविधान कार्यान्वयनसँग जोडिएको महत्वपूर्ण अधिवेशनका रूपमा हेरिएको छ।
-
Jigyasanepal