काठमाडौं, २४ कात्तिक — आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ। खेल युएईको घरेलु मैदानमा बिहान ११:१५ बजे सुरू हुनेछ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले हराउँदै बलियो सुरुवात गरेको थियो। दोस्रो खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै एक सय आठ रनको फराकिलो जित हात पारेको थियो।
छनोट प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत, र थाइल्याण्डले सहभागिता जनाएका छन्। यी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोलीले आगामी जनवरीमा मलेसियामा हुने यु-१९ महिला टी-२० विश्वकपमा स्थान सुरक्षित गर्नेछ।
नेपालको यस महत्वपूर्ण खेलप्रति सबैको ध्यान केन्द्रित छ, जहाँ जित हासिल गर्दै शीर्ष स्थानमा पुग्न प्रयास गर्नेछ।
- Jigyasa media