काठमाडौँ, कात्तिक २२ - यूएईमा जारी आईसीसी यू–१९ टी–२० महिला विश्वकप एसिया छनोट अन्तर्गत आज नेपालले कुवेतसँग खेल्ने भएको छ। दुबईको सेभेन्स स्टेडियममा नेपाली समय अनुसार बिहान ११ः१५ बजे खेल सुरु हुनेछ। यस खेलमा नेपाल लगातार दोस्रो जितको लक्ष्यमा उत्रिनेछ।
नेपालले यसअघि बुधबार थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले हराउँदै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको थियो। उद्घाटन खेलमा नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १०२ रनको सम्मानजनक स्कोर बनाएको थियो, जसको जवाफमा थाइल्यान्डले ११.४ ओभरमा मात्र ३५ रन बनाएर सबै विकेट गुमाएको थियो। यस खेलमा कप्तान पूजा महतोले ३५ रनको उत्कृष्ट प्रदर्शन गर्दै २ विकेट पनि हात पारिन्, भने रचना कुमारी चौधरीले बलिङमा ४ विकेट लिएर थाइल्यान्डलाई स्तब्ध बनाइन्।
नेपालका लागि पूजाको ४० बलमा ३ चौका र १ छक्का सहितको ३५ रन महत्त्वपूर्ण योगदान बन्यो भने सोनी पाख्रिनले १९ रन बनाए। थाइल्यान्डविरुद्धको बलिङ प्रदर्शनमा रचनाले ३ ओभरमा १२ रन खर्चेर ४ विकेट हात पारेपछि थाइल्यान्ड पुनरागमन गर्न असफल रह्यो।
प्रतियोगितामा शीर्ष स्थान हात पार्ने टोलीले आगामी वर्ष मलेसियामा हुने यू–१९ टी–२० विश्वकपमा स्थान सुरक्षित गर्नेछ। प्रतियोगितामा नेपाल, यूएई, कुवेत, र थाइल्यान्डको सहभागिता रहेको छ। बुधबारको अर्को खेलमा यूएईले कुवेतलाई १०३ रनको फराकिलो अन्तरले हराएको थियो, जसले गर्दा आज कुवेत पनि पुनरागमनको लक्ष्यमा हुनेछ।
कात्तिक २९ सम्म चल्ने यो छनोटमा नेपाललाई उत्कृष्ट प्रदर्शन जारी राख्नुपर्ने चुनौती छ, ताकि टिमले विश्वकपमा स्थान सुरक्षित गर्दै नेपाली क्रिकेटको शान बढाउन सकून्।
- Jigyasa media