काठमाडौं । भक्तपुर–काठमाडौँ सीमाक्षेत्रमा रहेको मनोहरा सुकुमवासी बस्ती पूर्ण रूपमा हटाइएको छ। मनोहरा खोलाको किनारमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुमवासीका सबै ८१० घरटहरा भत्काउने काम सम्पन्न भएको हो।
मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली–जडीबुटी क्षेत्रमा रहेको उक्त बस्ती हटाउने क्रममा सोमबार २४ वटा जेसिबी प्रयोग गरिएको थियो। सो क्रममा एक सामुदायिक विद्यालयसहित सम्पूर्ण संरचना भत्काइएको भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।
यसअघि शनिबार साँझ बस्ती हटाउने प्रयास गर्दा स्थानीय सुकुमवासी र सुरक्षाकर्मीबीच झडप भएको थियो। ढुङ्गामुढा हुँदा प्रहरी वृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित २२ जना सुरक्षाकर्मी घाइते भएका थिए।
आइतबार बिहान करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिएपछि अवस्था नियन्त्रणमा आएको थियो। सोही दिन करिब ८० प्रतिशत सुकुमवासीले स्वेच्छाले बस्ती छाडेका थिए।
प्रहरीका अनुसार आइतबार र सोमबारको कार्य शान्तिपूर्ण रूपमा सम्पन्न गरिएको हो।
मनोहरा करिडोर क्षेत्रमा अवैध बसोबास हटाउने सरकारी निर्णयअनुसार बस्ती हटाइएको जनाइएको छ।
-
Jigyasanepal