भरतपुर । गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउने पहल भइरहेको बताएका छन् ।
सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका बस र यात्रुको खोजीको प्रगतिबारे जानकारी लिन उच्च सुरक्षा अधिकारीसहित यहाँ आएका अर्यालले थप प्रविधिबारे दातृ निकाय र विभिन्न देशका दुतावाससँग कुरा भइरहेको जानकारी दिए ।
उनले बेपत्ताको खोजी गर्न सरकारले प्रविधिसहितका पाँच सय सुरक्षाकर्मी र गोताखोर परिचालन गरिएको बताए । ‘यातायात व्यवसायीसँग समेत छलफल गरेर खोजीलाई कसरी तदारुकता दिन सकिन्छ भनेर लागेका छौँ,’ उनले भने, ‘अहिलेसम्म पाँचवटा शव फेला परिसकेको छ ।’
उनले पानीको सतह घट्दै गएपछि आधुनिक उपकरण प्रयोग गरेर खोजीलाई तीव्रता दिइने बताए । सचिव अर्यालसहित प्रहरी महाननिरीक्षक वसन्त कुँवरलगायतको सुरक्षा टोलीले आजै दुर्घटनास्थलको स्थलगत निरीक्षण गर्ने जनाइएको छ ।
यही असार २८ गते बिहान ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका–२९ नारायगढ–मुग्लिन सडक खण्डको सिमलतालमा वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए । नदीमा बेपत्ता भएका ६५ जना यात्रुमध्ये अहिलेसम्म पाँच जनाको मात्र शव फेला परेको छ ।– रासस
- Reporter